कुस्मा–मुडिकुवा झोलुङ्गे पुल सर्वसाधरणका लागि खुल्ला : १ घण्टाको बाटो १० मिनेटमा पार

kushma-mudikuwa

१४ मंसिर, पर्वत । विश्वका अनौठा पुलमा पर्ने मुलुककै अग्लो मध्येको एक कुस्मा–मुडिकुवा झोलुङ्गे पुल सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।

कुस्मा–मुडिकुवा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले आइबार साँझसम्म ९९ प्रतिशत पुलको निर्माण कार्य पुरा भएपछि सर्वसाधरणको सुबिधा र पर्यटकको रोजाईलाई ध्यानमा राख्दै खुल्ला गरेको हो ।

पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा निर्माण भएको यो पुल १ सय ५८ दशमलब ७० मिटर अग्लो छ ।

‘सामान्य फिनिसिङ्गको काम मात्रै बाँकी छ’ समितिका अध्यक्ष बालकृष्ण तिवारीले भने ‘सर्वसाधरणको चाप थाम्नै गाह्रो भएपछि औपचारिक रुपमा खुल्ला गरेका हौ, आइतबार साँझसम्म तारबार लगाउने काम सकिएको र त्यसलाई राम्रो बनाउने काम मात्रै बाँकी भएकाले यात्रु र पर्यटकका लागि भने कुनै जोखिम हुने छैन ।’

पुल सञ्चालनमा आएपछि फलेबास क्षेत्र र दक्षिण बागलुङ्गका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन । मोटरसाईकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने अध्यक्ष तिवारीले बताए ।

‘सर्वसाधरणलाई अब ओहोर दोहोर गर्न समस्या छैन ’ उनले भने ‘मोटरसाईकल चलाउनका लागि भने अझै दुई महिना कुुर्नुपर्ने हुन्छ’ कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिलेसम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो छ । यो पुल ३ सय ५९ मिटर लामो रहेको छ ।

पर्वतको महत्वपूर्ण कृषि तथा ब्यापारिक केन्द्रको रुपमा रहेको फलेबाससम्म पुग्न अहिले बड्गाउँबाट १ घण्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेबास सडकमार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दुरी पार गर्नुपर्छ । झोलुङ्गे पुल निर्माणपछि कुस्मादेखि मुडिकुवा पुग्न १० मिनेट समय लाग्नेछ । यसले त्यस क्षेत्रमा आवतजावत र कृषि उपजको ढुवानीमा सहजता ल्याउने उपभोक्ता समितिका सदस्य बिष्णु नेवारले जानकारी दिए ।

बिभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण भएको सुचनाकेन्द्र डटकममा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत