टिचिङ हस्पिटलका आवासीय चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा बहिस्कार गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ‘टिचिङ हस्पिटल’का आवासीय चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेका छन् ।

रेजिडेन्ट डक्टर्स एशोसिएसनको मंगलबार बसेको बैठकले आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिअनुसार डा. केसीको जीबन रक्षाका लागि यस्तो निर्णय लिइएको छ र उनीहरुकै शब्दमा यो  एक निष्ठावान चिकित्सकको प्राण रक्षाको अभियान हो । यस अभियानमा साथ दिन आवासीय चिकित्सकहरुले सबैसँग अपिल गरेका छन् ।

डा. गोविन्द केसीका माग पूरा गराउन दबाव दिने उद्देश्यले रेजिडेन्ट डक्टर (आवासीय चिकित्सक)हरुले बिभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरुले बहिरङ सेवामा काम गरेका थिएनन् । डा. केसीको समर्थनमा मंगलबार वीर अस्पताल अगाडि डाक्टरहरुले धर्ना पनि दिए ।

यसैबीच रेजिडेन्ट डक्टर्स एशोसिएसन, नेशनल डक्टर्स एशोसिएन लगायत आठ संस्थाले डा. केसीको मागमा अडिग भई कडा दबाका कार्यक्रम ल्याउन नेपाल चिकित्सक संघलाई आग्रह पनि गरेका छन् ।

डा. केसीलाई भेट्न मंगलबार विहान स्वास्थ्य मन्त्री गगन थापा अस्पताल पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत