मोर्चाको अडान : नेपालीसँग विवाह गर्ने विदेशीलाई वंशजकै आधारमा नागरिकता हुनुपर्दछ

१६ मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई एमालेले नमान्ने भन्दै विरोध गरिरहेका बेला मधेसी मोर्चाले समेत त्यसलाई अपर्याप्त भन्दै समर्थन गर्न नसक्ने निर्णय गरेको छ ।

नेपालीसँग विवाह गर्ने विदेशीलाई वंशजकै आधारमा नागरिकता दिनुपर्ने अडान राख्दै मोर्चाले सरकारको प्रस्ताव समर्थन गर्न नसक्ने निर्णय गरेको हो ।

एमालेले विधेयकविरुद्ध संसद् अवरुद्ध गर्दै सडक आन्दोलन गर्ने चेतावनी दिएका बेला मधेसी मोर्चाले समेत प्रस्ताव अस्वीकार गरेको छ ।

बुधबार एमाले संसदीय दलको बैठकले संशोधन प्रस्तावविरुद्ध संसद् अवरुद्ध गर्ने तथा देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय गरेको थियो ।

उता, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चा बैठकले पाँचबुँदे संशोधन प्रस्तावका मुख्य बुँदा मधेस र मधेस आन्दोलनको भावना र मर्मविपरीत रहेको निष्कर्ष निकालेको छ । स्रोतका अनुसार वैवाहिक अंगीकृतलाई वैवाहिक वंशज मान्न माग गरे पनि संशोधन प्रस्तावमा वैवाहिक अंगीकृतकै व्यवस्था गरिएकोमा बैठकले आपत्ति जनाएको छ ।

यसअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वक्तव्य जारी गर्दै वैवाहिक अंगीकृतलाई वंशजको नागरिकता दिएर देशका प्रमुख पदमा जान सक्ने व्यवस्था कायम गर्न माग गरेका थिए ।

भारतमा विवाह गरेको पाँच वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था छ भने नेपालमा विवाह गर्ना साथ श्रीमानको वंशजमा श्रीमती आएको हुँदा स्वतः वंशजका आधारमा नागरिकता दिन पर्ने मोर्चाको माग छ ।

संशोधन विद्येयकमा ‘सबै मातृभाषा’, ‘राष्ट्रभाषा’ हुन् भन्ने छ तर मोर्चा भन्छ, नेपालमा बोलिने सबै भाषा ‘राष्ट्रभाषा’ हुनुपर्दछ 

मधेसी मोर्चाको बैठकले सरकारले ल्याएको संशोधन विधेयकलाई पूर्णरूपमा संशोधन गर्न माग गरेको छ ।

सीमांकनका विषयमा नवलपरासी टुक्र्याउन मिल्छ भने मधेस र थारुहरूको मागबमोजिम पूर्वका झापा, मोरङ र सुनसरी र सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको मधेसी भूभाग पनि टुक्र्याउन मिल्ने दाबी मोर्चाको रहेको छ ।

त्यस्तै सरकारले प्रस्तुत गरेको संशोधन विधयेकमा ‘नेपालमा बोलिने सबै मातृभाषा, राष्ट्रभाषा हुन्’ भनिएकोमा त्यसमा थप गरी नेपालमा बोलिने सबै भाषा भन्ने वाक्यांश थप्नुपर्ने धारणा मोर्चाले राखेको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनीलकुमार झाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान बोलाएको मोर्चासँगको बैठक र त्यसपछि बस्ने संघीय गठबन्धनको बैठकले संशोधन प्रस्तावका विषयमा महत्वपूर्ण निर्णय गर्न सक्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत