संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलन वितण्डा – प्रधानमन्त्री

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन हेरफेरसहित आएको संविधान संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलनलाई वितण्डाको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रदेश नम्बर २ बनाउँदा राष्ट्रघात गरेछु भनेर जनतासँग माफी माग्न आग्रह गर्दै नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रदेश नम्बर दुई बनाउँदा आफूले मकवानपुर, सिन्धुलीलाई राखौं भन्दा नमान्नेहरुले नै अहिले आन्दोलन गरिरहेको बताए ।

हिजो ५ नम्बर प्रदेशका पहाडका जिल्लाहरु पहाडमै हुनुपर्छ भन्नेहरुले ‘प्रचण्डले लुम्बिनी त भारतलाई बुझाइसक्यो ’ भनेर प्रचार गरेको सुनेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्तो फोहोरी राजनीति चलिराखेको छ, यसप्रति विरोध र आक्रोस पनि छ ।’

उनले आन्दोलन गर्नेहरुलाई दुई नम्बर प्रदेशमा पहाडी जिल्ला राख्नुप¥यो भनेर आन्दोलन गर्न सक्नुहुन्छ ? भनेर प्रश्न समेत गरेका छन् ।

एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले प्रमुख प्रतिपक्षी दलका नेताले भन्नुपर्‍यो, पहाडका जिल्ला पहाडमा, तराईका जिल्ला तराईमै हुनुपर्छ भन्ने मै हुँ । त्यो राष्ट्रघाती कामको सुरुवात मैले नै गरेको हुँ भनेर भनिदिनुस् । अनि उहाँसँग म सहमत अहसमत हुने कुरा बल्ल आउँछ ।’

उनले विपक्षीमाथि जनताको भावनामा खेलेर क्षणिक आत्मारतीमा रमाउन लागेको आरोप समेत लगाए ।

मधेसी मोर्चा र एमाले सहमतिमा आउनुको विकल्प नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले ढिलो नगरौं, बसेर छलफल गरौं भन्ने आग्रह समेत गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत