ठाकुरको उदघोष : माओवादी केन्द्र त्रिमुर्ति निकेतनका कारण अप्ठ्यारोमा

२२ मंसिर, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य गोपाल ठाकुरले माओवादी केन्द्र त्रिमुर्ति निकेतनका कारण अप्ठ्यारोमा परेको बताएका छन् ।

gopal-thakur

ठाकुरले मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ कार्यालय सदस्य रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ (त्रिमूर्ति निकेतन)का कारण अप्ठ्यारोमा परेको बताएका हुन् ।

ठाकुरले बैठकमा जनयुद्धले राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गसंघर्षमा जोडेर अघि बढाएको भन्दै पछिल्लो समय सो मर्म छोडेकाले क्षत्ति व्यहोर्नु परेको बताएका थिए । उनले ती चिजलाई जोड्न माओवादी घटक बिच पार्टी एकता भए पनि त्रिमूर्ति निकेतनका कारण पार्टी संरचनाहरु एकता विरोधी, राष्ट्रिय मुक्ति आन्दोलन विरोधी ढाँचाबाट आएकोले एकताको भावलाई पक्रन नेतृत्वलाई आग्रह गरेका थिए ।

बैठकमा सचिवालय सदस्य गोपाल ठाकुरले ‘नेपालको कम्युनिष्ट आान्दोलनमा वर्ग संघर्ष नेवार र मधेशी समुदायले सुरुवात गरेका थिए’ भन्दै आफ्नो भनाई अघि बढाएका थिए ।

कार्यालय विस्तार एकताको भाव विपरीत

स्रोतकाअनुसार बैठकमा कार्यालय सदस्य मातृका यादवले मधेशबाट कम्तीमा पनि ५ जना कार्यालय सदस्य थप गर्न प्रस्ताव गरेका थिए ।

यादवले कार्यालय सदस्यका लागि महादेव यादव, श्रवण यादव, गोपाल ठाकुर, विश्वनाथ साह र प्रभू साहको नाम प्रस्ताव गरेको भए पनि त्रिमुर्ति निकेतनले विश्वनाथ साह र प्रभू साहको नाम मात्र ठोस गरेको भन्दै एकताको भावअनुरुप कार्यालयको विस्तार नगरिएको स्रोतको दावी छ ।

मातृकालाई असफल बनाउने खेल पार्टी एकता सँगसँगै सुरु

नेपालको राजनीतिमा अन्य नेताको भन्दा छुट्टै विशेषता र पहिचान बनाएका पूर्वनेकपा (माओवादी)का संयोजक तथा नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य मातृका यादवलाई एकता विरोधीहरुले असफल बनाउने खेल सुरु गरिसकेको स्रोतले हाकाहाकी डटकमलाई बताएको छ ।

‘मातृकालाई असफल बनाउने खेल पार्टी एकता सँगसँगै सुरु भएको हो’ स्रोत भन्छ, ‘कार्की पार्टी प्यालेसमा पार्टी एकता घोषणा गर्ने दिन गत जेठ ६ गते बिहान त्रिमूर्तिकै कारण पदाधिकारी टुङ्गो लाग्न सकेन ।  साथै, एकताको स्प्रीटलाई पक्रिएर पदाधिकारी बनाउने भनिए पनि केही एकता विरोधीको दवावकै कारण पार्टीमा अध्यक्ष मात्र राख्ने भनियो र त्यही अनुसार पार्टी एकता घोषणा गरियो ।

पार्टी एकतासँगै मातृका यादवलाई दुई नम्बर प्रदेशको इन्चार्ज तोक्नु अघि गोपाल ठाकुरलाई संयोजक बनाएर दुई नम्बरमा  पठाइयो तर ठाकुरलाई कार्यालयमा नलैजाने तुरुपका रुपमा सबै प्रदेशमा कार्यालय सदस्य इन्चार्ज हुने भन्दै मातृका यादवलाई दुई नम्बर प्रदेश इन्चार्ज तोकियो ।

मातृकालाई इन्चार्ज तोकिए पनि उनलाई दुई नम्बर प्रदेशमा असफल बनाउन षड्यन्त्र भइरहेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘मातृकाले दुई नम्बरमा पार्टी एकता गराउन सकेन भन्ने सन्देश प्रवाह गराउन यतिबेला एकता विरोधी तप्का लागेका छन् ।’ एकता विरोधीहरु पछिल्लो समय मातृका यादवलाई दुई नम्बर प्रदेशको जिल्ला पार्टीको एकता गर्ने मिति तय भए पनि एकता गराउन नसकेको भन्ने गरी चलखेल गर्न सुरु गरेका छन् ।

स्रोत अघि भन्छ, पहिलो पटक एकताको मिति तोकिए लगतै पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने चटारो भएकाले जसरी पनि पुष्ककमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनका लागि पहल गर्न कार्यालय सदस्य मातृका यादवलाई आन्तरिक काममा खटाइएको थियो । जसका कारण पहिलो पटकको एकता सम्पन्न हुन नसकेको स्रोतले जनाकारी दिएको छ ।

यसैगरी दोस्रो पटक एकताको मिति घोषणा भए पनि सिरहाको मिर्चैयामा प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम राखियो । र, पार्टीलाई कार्यक्रममा केन्द्रीत हुन भनियो र एकता हुन सकेन । यी बिषयहरुलाई गौण बनाएर यतिबेला मातृका यादवका विरोधी विशेषतः एकता विरोधीहरुले मातृका यादवको जनप्रियतालाई कम गर्न नसकेपछि पार्टी एकता गर्न नसकेको भन्ने हौवा फिँजाउने गरी गतिविधि भइरहेको स्रोतको दावी छ ।

स्मरणरहोस् दोस्रो पटक दुई नम्बर प्रदेशको जिल्ला पार्टीको एकता प्रधानमन्त्रीको सम्बोधनका कारण रोकिएको भए पनि उक्त सम्बोधन कार्यक्रममा प्रधानमन्त्री मौषम प्रतिकूलताका कारण मिर्चैया पुग्न नसकी टेलिफोनबाटै सम्बोधन गरेका थिए ।

त्यतिमात्रै होइन, पार्टी एकतासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने लगतै प्रत्येक प्रदेशबाट एक-एक जना र एकतामा आएका पूर्वमाओवादी घटकहरुबाट एक-एक जना अनिवार्य सहभागिता रहने गरी प्रधानमन्त्री को सचिवालयमा गठन गर्ने भनिए पनि दुई नम्बर प्रदेशबाट प्रदेश इन्चार्जलाई जानकारी नै नभई प्रदेशबाट प्रधानमन्त्रीको सचिवालयमा लगिएको समेत खुल्न आएको छ ।

असन्तोषका बिचमा यस्तो बन्यो माओवादी केन्द्रको संरचना 

नेकपा (माओवादी केन्द्र)ले ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको बैठकले ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय महाअधिवेशन आयोजक समिति बनाएको हो ।

प्रवक्ता पम्फा भुसालले ‘केन्द्रीय महाअधिवेशन आयोजक समिति’ भएकाले आकार केही ठूलो हुन पुगेको बताइन् ।

बैठकले केन्द्रीय कार्यालय ३३, सचिवालय ९९ र पोलिटब्यूरो ३९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

प्रवक्ता पम्फा भुसालका अनुसार नेकपा (माओवादी केन्द्र)को बैठकले प्रदेश इन्चार्ज र संयोजकहरु पनि तोकेको छ ।

प्रदेश नं. १
इन्चार्जः गोपाल किराँती
संयोजकः सावित्री कुमार काफ्ले
–४३ जना पोलीटब्युरो सदस्य तथा ४५७ केन्द्रिय सदस्यको
प्रदेश नं. २
इन्चार्जः मातृका यादव
संयोजकः विश्वनाथ साह
–५७ जना पोलिटब्युरो सदस्य तथा ५५० केन्द्रिय सदस्य
प्रदेश नं. ३
इन्चार्जः हितमान शाक्य
संयोजकः झक्कु सुवेदी
–९४ जना पोलिटब्युरो सदस्य तथा १ हजार जना केन्द्रिय सदस्य
प्रदेश नं. ४
इन्चार्जः देव गुरुङ
संयोजकः कुमार
–४० जना पोलिटब्युरो सदस्य तथा ४५० केन्द्रिय सदस्य
प्रदेश नं. ५
इन्चार्जः वर्षमान पुन ‘अनन्त’
संयोजकः पुर्ण घर्ती ‘आयम’
–६९ जना पोलिटब्युरो सदस्य तथा ५५५ जना केन्द्रिय सदस्य
प्रदेश नं. ६
इन्चार्जः शक्ती बस्नेत
संयोजकः पारसमणी
–४० जना पोलिटब्युरो सदस्य तथम ५७५ जना केन्द्रिय सदस्य
प्रदेश नं. ७
इन्चार्जः लेखराज भट्ट
संयोजकः लक्ष्मण जोशी
–२६ जना पोलिटब्युरो सदस्य तथा ३५० जना केन्द्रिय सदस्य

अन्तर्राष्ट्रिय विभागको इञ्चार्जको जिम्मेवारी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई दिइएको छ भने अन्तर्राष्ट्रिय विभागको संयोजकमा भने लक्ष्मण पन्त तोकिएका छन् ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरविरुद्धको आन्दोलनमा प्रमुख विपक्षी नेकपा एमालेसँग मिलेर आन्दोलनमा होमिएका टोपबहादुर रायमाझीलाई भने कुनै पनि जिम्मेवारी दिइएको छैन ।

मंसिर २७ देखि प्रदेशस्तरीय बैठक  

माओवादी पोलिटव्यूरो बैठकले मंसिर २७ गतेदेखि पुस १० गतेसम्म प्रदेशस्तरीय बैठक गर्ने निर्णयसमेत गरेको प्रवक्ता भुसालले जानकारी दिइन् ।

माओवादीले पुस मसान्तभित्र पार्टीका सबै सदस्यहरुलाई सदस्यता नविकरण गर्न निर्देशन दिएको छ । यसैगरी माघ महिनाभित्र वडा, गाउँ र नगरपालिकाको अधिवेशन तथा फागुन मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

  •  
    97
    Shares
  • 97
  •  
  •  
  •  

तपाइको मत