को हो यो, प्रश्न सोध्ने ? घर कहाँ हो ? – कांग्रेस सभापति देउवा

देउवा सहभागी हुने कार्यक्रम पूर्वउपराष्ट्रपति सहभागी कार्यक्रम जस्तै बहिष्कार गरिनुपर्छ – सञ्चारकर्मी

२३ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटाउन पहल थालेकी सभामुख ओनसरी घर्ती मगरको सिंहदरबारस्थित कार्यकक्षमा भेट गरी बाहिरने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन आनाकानी गर्दै बाहिरएपछि पत्रकारहरुले देउवा सहभागी हुने कार्यक्रम बहिष्कार गर्नु पर्ने बताएका छन् ।

सभामुखसँगको छलफलको प्रतिक्रिया लिन सभामुखको कार्यकक्ष बाहिर लामो समय प्रतीक्षारत् सञ्चारकर्मीहरु कांग्रेस सभापति देउवा सभामुखको कार्यकक्षबाट बाहिरिने क्रममा उनलाई घेर्न पुगेका थिए । तर, देउवाले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया समेत नदिई अघि बढेपछि रिसले चुर भएका पत्रकारहरुले देउवा सहभागी हुने कार्यक्रम बहिष्कार गर्नुपर्ने बताएका हुन् ।

एक टेलिभिजनामा कार्यरत पत्रकारले पूर्वउपराष्ट्रपति परमानन्द झा सहभागी भएको एक कार्यक्रममा पत्रकारहरुलाई तस्बिर र भिडियो खिच्न अवरोध गरिएपछि धादिङ जिल्लामा कार्यरत सञ्चारकर्मीहरुले कार्यक्रम बहिष्कार गरे जस्तै देउवाको कार्यक्रम बहिष्कार गर्नु पर्ने देखियो भनेका थिए ।

ती पत्रकारको कुरामा अधिकांश सबै पत्रकारले ‘हो’ मा ‘हो’ मिलाएका थिए । अर्का एक सञ्चारकर्मीले उनको कुरामा सहमति जनाउँदै कुरा ठीकै हो, यिनको बढेको चुरीफरीलाई साइजमा ल्याउन बहिष्कार त गर्नै पर्ने हो भनेका थिए ।

कांग्रेस सभापति देउवाले संक्षिप्त प्रतिक्रिया पनि नदिएपछि पत्रकारहरु ‘यत्रो समय कुरेर पनि केही नबोल्ने ?’ भन्दै यसै हप्ता एक कार्यक्रममा अतिथि भई  मञ्चमा बसिरहेका देउवाले सम्बोधन गरिरहेका वक्तालाई कति लामो बोलेको ? भनी प्रश्न गरेको बताउँदै उनको शैलीप्रति आपत्ति जनाएका थिए ।

को हो यो, प्रश्न सोध्नी ? घर कहाँ हो ?

देउवाले छलफलबारे केही अभिव्यक्त नगरी बाटो पक्रिएलगतै उनको शैलीप्रति असन्तुष्ट एक पत्रकारले सोधिहाले, ‘कैलाली पनि छुट्टयाउने हो ?’ सायद, ती पत्रकारको तिखो प्रश्नले घोचेपछि देउवाले कर्के नजरले पछाडि फर्किएर हेर्दै भने, ‘को हो यो, प्रश्न सोध्ने ? घर कहाँ हो ?’

प्रश्न कर्ता पत्रकारले ‘मैले हो’ भन्दै देउवालाई पछ्याए । देउवासँगै व्यवस्थापिका संसदको बाहिरिने ढोकासम्म पुगेका ती पत्रकारले सभामुखको प्रेस विज्ञ बासुदेव शर्माको कार्यकक्षमा फर्किएपछि बिचमा के कुरा भयो ? भन्ने एक पत्रकारको प्रश्नमा ‘कम्तीमा चिनिने मौका मिल्यो’ भनी आत्म सन्तुष्टि जनाएका थिए ।

सभामुख ओनसरी घर्तीले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संविधान संशोधनका एजेण्डाहरु आपसी छलफल गरेर सुल्झाउन र संसदको अवरोध हटाई सहमतिको वातावरण बनाउन आग्रह गरेकी थिइन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिए अवरोध हट्ने बताएका थिए भने नेपाली कांग्रेसका सभापति देउवाले संविधान संसोधन विधेयकमा सहमति गरी गतिरोध अन्त्यबारे छलफल भएको प्रतिक्रिया दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत