र्‍यालीमा सहभागी एक छात्राको बेहोस भई मृत्यु

२४ मंसिर, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतका लागि निकालिएको र्‍यालीमा सहभागी एक छात्राको ज्यान गएको छ ।

वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो ।

वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन् । वीरेन्द्रचोक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बाँकेको कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए ।

चिकित्सकले समीक्षाको मुटुमा रक्तसञ्चारमा अवरोध हुँदा मृत्यु भएको बताएका छन् । उनीहरूका अनुसार तनाव, भीडभाड र शरीरमा थकान हुँदा किशोरकिशोरीमा यस्तो समस्या देखिन्छ ।

प्रधानमन्त्रीलाई स्वागत गर्न भन्दै बिहान १० बजेबाट वीरेन्द्रनगरका सरकारी तथा निजी विद्यालयका विद्यार्थीलाई पोसाकसहित बिहान १० बजेदेखि नै र्‍यालीमा सहभागी गराइएको थियो तर प्रधानमन्त्री प्रचण्ड दिउँसो ३ बजेमात्र मेलास्थलमा पुगेका थिए ।

स्थायी घर पाल्पा भएकी उनका बाबुआमा वीरेन्द्रनगरमा व्यापार गर्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत