सीमांकन हेरफेर प्रस्ताव सकारात्मक – विपक्षी सांसद

२४ मंसिर, काठमाडौं । शुक्रबार संसदको बैठक सुरु हुनासाथ विपक्षी दलहरुको तर्फबाट समय लिएर बोलेका राष्ट्रिय जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले संसद अवरुद्ध गर्नुअघि सीमांकन हेरफेर प्रस्तावलाई सकारात्मक भनेर समर्थन जनाएका छन् ।

उनले संशोधनमा अलिकति मगरात प्रदेशमा सीमांकन केही हेरफेर भएको भन्दै हिजो मगरातको क्लस्टर नमिलेको बताउँदै अहिले ४ र ५ को क्लस्टर मिलाएर ४ नम्बर क्षेत्रमा राख्ने भन्ने संशोधन आएकाले सकारात्मक रुपमा लिइएको बताए ।

सांसद थापाले अन्य विषय मुलुकको हितमा नभएको भन्दै विधेयक फिर्ता लिन माग गरे । उनले सीमांकनको कुरामा केही सकारात्मक देखिए पनि नागरिकताको कुरा अंगीकृतलाई उच्च तहका कार्यकारी प्रमुखसम्म पुर्‍याउने प्रस्तावको रुपमा आएको बताए ।

उनले भाषासम्वन्धी संशोधनको विरोध गर्ने क्रममा आदिवासी जनजातिले बोल्ने भाषालाई नमान्ने तर हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन खोजेको आरोप लगाए ।

सांसद थापाले बोले लगतै विपक्षी दलका सांसदहरुले उठेर विरोध गरे । सभामुखले पटक-पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरु नबसेपछि संसद बैठक ३० गतेसम्मका लागि स्थगित भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत