प्रधानमन्त्री आउनुभयो, राति सुतेर जानुभयो – मुसहर

मनहरवा, महोत्तरी । चार वर्षअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई तामझामका साथ फुलकहा—६ मनहरवास्थित मुसहर बस्ती पसेका थिए । अति पछाडि परेको मधेसी दलित मुसहरको जिन्दगी नजिकबाट बुझ्न उनले मुसहरकै झुपडीमा रात बिताए । विष्णु सदाको सानो झुपडीमा भुईंमै पराल ओछ्याएर सुते, गरिबले भोग्दै आएको पीडा महसुस गर्न खोजे ।

mushar

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बास बसेको विष्णु सदा मुसहरको घर । तस्बिर : अन्नपूर्ण

प्रत्येक महिनाको अन्तिम शनिबार दलित बस्तीमा रात बिताउने योजनाअनुसार तत्कालीन प्रधानमन्त्री डा. भट्टराई २७ असोज २०६९ सालमा मुसहरको घरमा बास बसेका थिए । विष्णुले ६ हजार रुपैयाँ ऋण काढेर त्यो दिन डा. भट्टराईको स्वागत सत्कार गरे ।

मुसहरले आफूले खाने घुङी (शंखेकीरा)को तरकारी, गँगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार खुवाए । प्रधानमन्त्री भट्टराईको आगमनले आफूहरूको दुःखको घाउमा मलम लाग्ने आस संगालेर बसेका थिए मुसहरहरू । तर त्यस्तो केही भएन । बस्तीका मुसहरले देखेको सपना केबल सपनामै सीमित रह्यो । पहिलेभन्दा हिजोआज मुसहरको पीडा झनै बल्झिएको छ ।

समाजिक, आर्थिक र शैक्षिक रूपमा मुसहरको जीवनमा देखिने र अनुभूति गर्ने गरी कुनै ठोस परिवर्तन भएको छैन । बस्तीमा गरिबी, अशिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीजस्ता कैयन समस्या ज्यूँकात्यूँ छन् ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछाडि रहेको मुसहर बस्तीमा देशका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा मुसहरहरू जति खुसी थिए, अहिले त्योभन्दा पनि बढी दुःखी छन् । चार वर्षको अन्तरालमा पनि मुसहर बस्तीको अवस्था जस्ताको त्यस्तै छ ।

एक सय २५ परिवार मुसहरको थातथलो गुम्ने खतराले यतिबेला उनीहरू पिरोलिएका छन् । सय वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएका सबै मुसहरको २२ कठ्ठा १२ धुर जग्गाको ४२ वर्षअघि सोनफी राय (यादव) नामक जमिनदारले आफ्नो नाममा लालपुर्जा निकालेका थिए । उक्त जग्गा यादवले बेचेपछि मुसहरलाई सबैभन्दा ठूलो समस्या आफ्नो थातथलोको छ ।

‘प्रधानमन्त्रीले सबैभन्दा पहिले हाम्रा पुर्खादेखि बसोबास गर्दै आएको थलोको लालपुर्जा दिलाइदिउन्’, प्रधानमन्त्री भट्टराई गाउँमा आउँदा पनि यही माग राखेका थिए उनीहरूले । बस्तीका ६५ वर्षीय वृद्ध वृहस्पति सदा मुसहरले भने, ‘प्रधानमन्त्री आएपछि हामीले जग्गा रोक्का हुने आस लिएका थियौं । प्रधानमन्त्री जानुभो । त्यसपछि त मुसहरहरू बसोबास गरेको जग्गाको साहुले किनबेच बढायो । अहिले एउटै जग्गा तीन–चारपटक बिक्री भइसक्यो ।’

मंसिरको जाडोमा पराल ओछ्याएर परालकै गुन्द्री ओढेर सुतेका वृहस्पतिले भने, ‘जाडोमा चलेको शीतलहर घरभित्रै पस्छ । भोकै पनि सुत्न दिँदैन यो गरिबलाई । पानी पर्दा घरको छानो चुहिन्छ, जाग्रामै बसेर रात बिताउँछौं । रात, घामपानी र जाडो ओत्ने घर छैन हाम्रो ।’ मुसहरहरूलाई लगाउने लुगाको पनि अभाव छ । बच्चाहरू जाडो मौसममा पनि पातला लुगा लगाएर बसेका छन् । कतिको शरीरमा त लगाउने लुगा पनि छैन ।

प्रधानमन्त्री आएपछि मुसहरहरूको घर बनाउन सहयोग पुग्छ भन्ने आस संगालेका थिए उनले । तर, प्रधानमन्त्री बास बसेको मुसहर बस्तीमा अहिले साहुबाट त्रसित भएर बस्नु परेको उनको दुखेसो छ । ठन्डी लागेर बिरामी थिए वृहस्पति ।

बोल्दाबोल्दै रोकिए, अनि फेरि मधुरो स्वरमा बोल्ने कोसिस गरे उनले । बाउबाजेले जंगल फाँडेर बसोबास गरेको स्मरण गर्दागर्दै उनी एकैछिन भक्कानिए पनि । ‘खासमा हामी ऐलानी जग्गमा बसेका थियौं । प्रधानमन्त्री नआउँदासम्म अर्काले पुर्जा निकालेको भए पनि खासै वास्ता गर्दैनथे । ढुक्कसँग बसेका थियौं । प्रधानमन्त्री आएपछि मुसहर अगाडि बढ्लान् भनेर साहुले लालपुर्जा देखाएर उठीबास लगाउन खोजेको छ ।’

‘सरकारले घर बनाइदिने के आस गर्नु, अब त जमिन्दारले घर उखेलेर उठीबास लगाउँछ भन्ने हल्ला छ,’ बस्तीका अगमलाल सदाले वृहस्पतिको कुरो नसकिँदै भने, ‘घर न घडेरी ! कहाँ जाने ? कहाँ बस्ने ? ‘

मुसहर बस्तीको जग्गा अन्यले साहुसँग धमाधम खरिद गरिरहेका छन् । जग्गा किन्नेहरूले ‘धेरै बोलिस् भने उठाएर भगाइदिन्छु’ भन्दै हप्काइरहेका एक मुसहरले डराउँदै भने, ‘मेरो नाम नलेख्नू है । धनीले लालपुर्जा देखाएर धेरै कराइस् कि भागाइदिन्छु भन्छन् ।’

साहुको खेत खनेर, काँधमा कोदाली लिएर बस्ती फर्किंदै गरेका हरि सदाले मुसहरले आफूहरूको बेहाल भएको दुखेसो पोखे । उनले प्रधानमन्त्री राति सुतेको घर देखाउँदै भने, ‘प्रधानमन्त्री आउनुभयो । राति सुतेर जानुभयो, अरू केही भएन । गरिबहरू धनीको खुट्टामुनि कहिलेसम्म बस्ने ? ‘

मुसहरका बालबच्चा पढ्ने नेपाल राष्ट्रिय जनजाति प्राथमिक विद्यालयको अवस्था झनै नाजुक छ । मुसहर समुदायमा झन्डै पाँच सय स्कुले उमेरका बच्चा छन् । उनीहरू स्कुलबाहिरै छन् । करिब एक हजारको बसोबास रहेको मुसहर बस्तीमा कक्षा चारसम्म पढ्ने कृष्ण सदाभन्दा अरू गाउँमा बिरलै भेटिन्छन् ।

‘स्कुलमा नाम लेखाउने समयमा मुसहरका बालबच्चालाई शिक्षकरहरूले लैजान्छन् । नाम लेखिदिन्छन् । स्कुल ड्रेस दिन्छु भन्दै नाप लिन्छन् तर स्कुल ड्रेस दिँदैनन्’, बस्तीकी अनुपिया देवी सदाले भनिन्, ‘पढाउने बेलामा धनी मान्छेले आफ्ना बच्चाहरूलाई सुविधा सम्पन्न सोनमाको बोर्डिङ्ग स्कुलमा पढाउँछन् ।

ड्रेस वितरण हुने समयमा गरिब बच्चाको स्कुल ड्रेस बोर्डिङ्ग पढाउने धनीमनीले नै लिन्छन् । उनीहरूका बच्चा स्कुल ड्रेस लगाएर बाहिर पढ्न जान्छन् । गरिबका बच्चाहरू ड्रेस नभएपछि स्कुले जान मान्दैनन् ।’ अहिलेसम्म मुसहरका बच्चाले छात्रवृत्ति नपाएको उनले गुनासो गरिन् । उनले थपिन्, ‘नुन, रोटी खान नपाएर भोकभोकै स्कुल जाने मुसहरका बच्चालाई शिक्षकहरूले राम्रोसँग रेखदेख गर्दैनन् । हप्काएर पाठाउँछन् ।’

स्कुलमा नियमित पढाइ पनि नहुने स्थानीय गीतादेवी सदाले बताइन् । उनका अनुसार शिक्षकहरू विद्यार्थीलाई पढाउनुको साटो राजनीति गर्छन् । १२ बजे स्कुल खोल्छन् । २ बजे बन्द गर्छन् । त्यसपछि गाउँ घुमेर गफ गर्छन् । स्कुलको पढाइ लथालिंग छ ।

बस्तीमा खानेपानीको अभाव उस्तै छ । गाउँ नजिकै रहेको बोरिङबाट उनीहरू खानेपानी थाप्छन् । ६ महिना खानेपानी सजिलै पाइन्छ । वैशाख लाग्नेबित्तिकै बस्तीमा खानेपानीको चरम समस्या हुने गरेको लालबती सदाले बताइन् । ‘ भगवानले पनि हामीलाई कति दुःख दिन्छ ।

जाडोमा ओढ्ने र ओछ्याउने नहुँदा परालको चटाई औढेर सुत्छौं । वैशाखको गर्मी आउनासाथ खानेपानीको अभाव खेप्नुपर्छ । बर्खा लागेपछि खानेपानी पाउँदा घर भने चुहिन थाल्छ ।’ जमिनदाले आफ्नो खेतमा सिँचाइका लागि बोरिङ गाडेका छन् । उनीहरूलाई सिँचाइको आवश्यकता भएको बेला बोरिङ खोल्छन् । अनि पानी सहजै पाइन्छ । सिँचाइको काम सकिएपछि बोरिङको मुखै बन्द गरिदिन्छन् । त्यसपछि मुसहरले खानेपानीको अभाव खेप्छन् ।

गाउँमै स्वास्थय चौकी नहुँदा मुसहरहरू स्वास्थ्य सेवाबाट वञ्चित छन् । सरकारले वितरण गर्ने सिटामल पनि मुसहरको पहुँचमा छैन । गाउँमा अस्पताल नहुँदा मुसहर समुदायका महिला घरमै बच्चा जन्माउँछन् । ‘मुसहरहरूसँग एम्बुलेन्सलाई तिर्ने भाडा हुँदैन ।

यसकै कारणले बस्तीभन्दा टाढा रहेको अस्पतालमा सुत्केरी गराउन जान सक्दैनन्’, सविता सदा भन्छिन्, ‘अहिलेसम्म मुसहर समुदायका महिलाहरू गर्भवती जाँच पनि गराउन अस्पताल जान सकेका छैनन् ।’ अस्पतालसम्म उनीहरूको पहुँच नहुँदा धामीझाँक्रीको भरमा बाँचेका छन् ।

मुसहर बस्तीमा पोल गाडेर तार टाँगिएको छ । जयकलादेवी सदा भन्छिन्,‘ विद्युतीय मिटर किनेर बिजुली बत्ती बाल्न रुपैयाँ हामीसँग छैन । चोरेर बिजुली बाले पक्राउ पर्ने डर छ । त्यसैले अन्धकारमै रात बितउँछौं ।’

गाउँघरमा ज्यालामजदुरी गरेर मुसहरले घरपरिवार चलाउने गरेका छन् । रोजगारीका लागि पुरुषहरू पञ्जाब जान्छन् । महिलाले माछा मारेर घरखर्च चलाउँछन् । भनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुसहरको झुपडीमा रात बिताएको चार वर्षपछि राजकरण महतोले उक्त मुसहर वस्तीको अवस्था अन्नपूर्णपोष्ट डटकममा लेखेका छन्  ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत