संसद अवरुद्ध गर्न हुँदैन भन्ने एमालेले आज किन संसद अवरुद्ध गरेको ? – बस्नेत

२६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले हिजो संसद अवरुद्ध गर्न हुँदैन भन्ने एमालेले आज संशोधन प्रस्तावलाई लिएर किन संसद अवरुद्ध गरेको ? भनी प्रश्न गरेका छन् ।

आइतबार राजधानीको एक कार्यक्रममा बस्नेतले संविधान संशोधनबारे सरकारले पनि केही पुनर्विचार गर्नुपर्ने र मधेसी मोर्चाले पनि मेरो गोरुको बाह्रै टक्का गर्न नहुने जिकिर गरे ।

यसैगरी नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधान संशोधन प्रस्तावको विरोधमा लगातार संसद अवरुद्ध पार्दै आएका एमालेसहितका विपक्षी दलहरुलाई संसदभित्रै आएर यसबारे छलफल गर्न आग्रह गरेका छन् ।

नेता रिजालले कसैलाई मन पर्दैन भने यसमा संशोधन गर्न सकिन्छ, संसद अवरुद्ध गरेर के हुन्छ ? भन्दै संसद त चल्न दिनुपर्ने बताए । उनले मुलुकलाई चुनावमय बनाउन मधेसी मोर्चालाई सहमतिमा ल्याउन जरुरी रहेको बताउँदै संशोधन प्रस्ताव टुँगो लगाएर चुनावमा जानुपर्ने बताए ।

कार्यक्रममा एमालेका नेता रघुविर महासेठले संविधान संशोधन प्रस्ताव पारित नहुने दाबी गर्दै भित्रीरुपमा कांग्रेस र माओवादी स्वंयमले पनि यो प्रस्ताव पास गर्न नचाहेको बताए ।

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले अहिलेको संशोधन प्रस्ताव परिमार्जनसहित आयो भने यसलाई पारित गर्न आफूहरु तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत