२७ मंसिर, चितवन । एमालेले पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको छ । पार्टी सदस्य बन्न परीक्षामा २० नम्बर ल्याउनु पर्ने बताइएको छ ।
चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा एमाले चितवनले जिल्लास्तरमा पहिलोपटक २०० जनाको परीक्षा लिइएको केन्द्रीय सदस्य कृष्ण खनालले बताए ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खनालले पार्टी सदस्यका लागि नेपालमै पहिलोपटक परीक्षा सुरु गरेको दाबी गर्दै परीक्षामा सामेल हुन नसकेकालाई क्षेत्र र इकाइमै परीक्षा दिने व्यवस्था गरिने बताए ।
तीन चरणमा भएको परीक्षाको पहिलो चरणमा १०० भन्दा बढी परीक्षार्थी सहभागी रहेको बताउँदै एमाले चितवनकी सचिव दिलकुमारी रावलले ६० पूर्णाङ्कको परीक्षा उत्तीर्ण गर्न कम्तीमा २० नम्बर ल्याउनु पर्ने बताइन् । रावलकाअनुसार १५ वटा वस्तुगत प्रश्न सोधिएको छ ।
परीक्षामा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना कहिले भएको हो ? कम्युनिष्ट पार्टीका संस्थापक महासचिव को हुन् ? कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन कहिले भयो ? प्रथम कम्युनिष्ट प्रधानमन्त्री को हुन् ? लगायत सामान्य प्रश्न सोधिएको थियो ।