प्राधिकरणका कर्मचारीहरुबाटै लाखौंको अनियमिमता भएको खुलासा

२८ मंसिर, सप्तरी । जिल्लाको विभिन्न स्थानमा मिटर जडान गर्ने क्रममा खटिएका विद्युत प्राधिकरणका कर्मचारीहरुबाटै लाखौंको अनियमिमता भएको खुलासा भएको छ ।

saptari

विद्युत प्राधिकरण शाखा राजविराज अन्तर्गत रुपनी उपकेन्द्र मातहमा पर्ने गाविसहरुमा जडान गरिएको विद्युत मिटर बिक्रीमा ब्यापक अनियमितता भएको खवर पाएपछि प्राधिकरणद्वारा गठीत छानविन समिलिते सो खुलासा गरेको हो ।

छानवीन समितिले कार्यालय प्रमुख राम उदगार साहलाई बुझाएको प्रतिवेदनमा जिल्लाको हरिपुर र बसानपटृीको १८ घरमा जडान गरिएको मिटर बिक्रीमा प्राधिकरणकै कर्मचारीले लाखौं रकम हिनामिना गरेको उल्लेख छ ।

सो गाविसहरुमा मिटर जडान गर्ने क्रममा खटिएका प्राधिकरणका सुपरभाईजर राजेन्द्र प्रसाद साह, सहलेखापाल गोपाल झा स्टोर किपर मो. यासिन, फोरम्यान सुरेश गुप्ता र रिडर इन्चार्ज चौठी यादव सम्मिलित टोलीले प्रतिग्राहक १० हजार रुपैयाँ असुल गरेको तर प्राधिकरणको खातामा जम्मा नगरी हिनामिना गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त गाविसका १८ जनाको घरमा विद्युत मिटर जडान गरी रकम वसुल गरिए पनि सो रकमबारे प्राधिकरणमा कुनै लगत र रेकर्ड समेत नराखिएको प्रतिवेदनमा देखाइएको छ ।

आर्थिक अनियमितताबारे स्थलगत अध्ययन र छानवीन गर्न प्राधिकरणका इन्जिनियर अभिनव झाको नेतृत्वमा जागेश्वर यादव, एकचन्द्र राय र रामनारायण यादव सदस्य रहने गरि छानविन समिति गठन गरिएको थियो । प्रतिवेदनमा २०६९ सालमा हरिपुर बसानपटृी र आसपासका क्षेत्रमा १८ वटा घरमा प्रति घर १० हजारका दरले असुल गरी मिटर जडान गरिए पनि हालसम्म एकपल्ट पनि त्यसको रिडिङ्ग समेत नभएको पाइएको उल्लेख गरिएको छ ।

प्राधिकरण प्रमुखलाई बुझाइएको प्रतिवेदनमा अनधिकृत रुपमा रकम वसुल गरिएका १८ जना ग्राहकको नामावली र मिटर नम्बर समेत उल्लेख गरिएको छ । यस्तै सिंचाई प्रयोजनका लागि जिल्लाका विभिन्न गाविसमा वितरण गरिएको मिटरमा समेत ब्यापक आर्थिक अनियमितता भएको पाइएको प्रतिवेदनमा खुलाइएको छ ।

यसरी ग्राहकहरुबाट मिटर बापत असुल गरिएको रकम प्राधिकरणको खातामा जम्मा नभएको तथा कतै कुनै रेकर्ड पनि नराखेर अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख गर्दे त्यस्तो क्रियाकलाप गर्ने कर्मचारी माथि कारवाहीको माग समेत गरिएको छ ।

छानविन टोलीले गत कार्तिक ५ गते नै उक्त प्रतिवेदन कार्यालय प्रमुख साहलाई बुझाएका थिए । तर डेढ महिना नाघिसक्दा पनि प्रमुख साहले कारवाही प्रकृया शुरु गर्न ढिलाई गरेपछि विहीवार छानविन टोलीकै एस सदस्यद्वारा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गरिएको छ ।

“यति दिन वितिसक्दा पनि प्रमुख साहले प्रतिवेदन गोप्य राखेर कुनै कारवाही प्रकृया शुरु गरेनन छानविन समितिमा रहेका एक सदस्यले नाम नछाप्न आग्रह गर्दै आग्रहका साथ भने, “यसमा प्राधिकरण प्रमुख साहको समेत चलखेल हुन सक्ने भएकाले प्रतिवेदनलाई गोप्य राखिएको हाम्रो अनुमान छ ।”

यसबारे प्राधिकरण प्रमुख साहसँग जिज्ञासा राख्दा उनले यस सम्बन्धमा आवश्यक प्रकृया अघि बढाई सकिएको र थप छानविन भइरहेको जवाफ बाहेक केही बताउन चाहेनन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत