भारत, अमेरिकाको पनि नागरिकता बोक्ने, अनि वीर नेपाली भन्ने ? – पण्डित

प्रधानमन्त्रीलाई अर्काको बुद्धिले राजा नबन्न केसीको सुझाव

२९ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डलाई ‘आफनो बुद्धिले जोगी बन्नु अर्काको बुद्धिले राजा नबन्नु’ भनी सुझाएका छन् ।

एमाले, नेमकिपा, माले, जनमोर्चा लगायतका ‘संयुक्त विद्यार्थी संगठन’ले मंगलबार राजधानीमा आयोजना गरेको ‘सडक-बहस’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केसीले प्रधानमन्त्री प्रचण्डलाई ‘आफनो बुद्धिले जोगी बन्नु अर्काको बुद्धिले राजा नबन्नु’ भनी सुझाएका हुन् ।

केसीले भारतको बुद्धिमा लागेर प्रधानमन्त्री बनेका प्रचण्डलाई त्यही गला लागेर निल्नु न ओकल्नु भएको बताउँदै अघिल्लो सरकारका पालामा मालदार र कमाउ मन्त्रालय माओवादीले नै लिएको भए पनि भारतको बुद्धिमा लागेर प्रधानमन्त्री भएपछि अहिले वाक्नु न निल्नु भएको बताए ।

संविधान संशोधनका नाममा तराई-पहाडबाट छुट्याएर काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग टुक्र्याउन भारत लागि परेको समेत केसीको आरोप थियो ।

‘छोरी र बहिनी दिएर नाता जोड्न सकिन्छ, तर आमा नै दिएर कसैसँग नाता जोड्न नसकिने भन्दै पूर्वउपप्रधानमन्त्री केसीले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरे ।

कतै झण्डा हल्लाउनेहरुले नै दुई देशको नागरिकता त बोक्नुभएको त छैन ? – पण्डित

यसैगरी एमाले नेता लालबाबु पण्डितले सरकारमा रहेका मन्त्रीहरुले राष्ट्रघात नै देख्न छोडेको बताएका छन ।  पण्डितले भने ‘सरकारका गृहमन्त्री विमलेन्द्र निधीले भनेको सुनें, राष्ट्रघात भन्ने शब्द नै हुँदैन, भारतका नेता कपिलले स्ट्याटस लेखेका छन्, सन् २०२४ सम्म नेपाल भारतको प्रान्त हुनेछ, अहिले कतिपय नेपालका मन्त्रीहरुले राष्ट्रघात देख्न छोडेका छन् ।’

सामान्य प्रशासन मन्त्री हुँदा डीभी पीआरको विरोध गरेका एमाले नेता पण्डितले नागरिकताको प्रशंग निकाल्दै भने, ‘नेपालको पनि नागरिकता बोक्ने, भारतको पनि नागरिकता बोक्ने, अष्ट्रेलियाको पनि बोक्ने, अमेरिकाको पनि बोक्ने, अनि वीर नेपाली भन्ने ? यस्तो नेपालीबाट देशको रक्षा हुन सक्तैन ।’

पूर्वमन्त्री पण्डितको प्रश्न थियो- ‘कतै झण्डा हल्लाउनेहरुले नै दुई देशको नागरिकता त बोक्नुभएको त छैन ? सन् २०२४ लाई पर्खेर बस्नुभएको त छैन ?’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत