संविधानलाई कार्यान्वयनमा ल्याउन निर्वाचनमा जाने सरकारको मुख्य एजेण्डा – प्रधानमन्त्री

press-centre-siraha

हिरालाल चौधरी, २९ मंसिर, सिरहा । एकीकृत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले तराई, मधेश र पहाड सबैलाई सर्वस्वीकार्य हुने गरी संविधानमा संशोधन गर्ने र संविधानलाई कार्यान्वयनमा ल्याउन निर्वाचनमा जाने सरकारको मुख्य एजेण्डा रहेको बताएका छन् ।

सिरहाको लहानमा बुधबार प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको प्रस्ताव मधेश, पहाड र हिमाल सबैको सर्वस्वीकार्यतालाई विचार गरेर ल्याइएकोले यो कुनै पनि हालतमा फिर्ता नलिने अडान दोहो¥याएका छन् ।

प्रधानमन्त्रीले मधेशवासी दल, नेपाली काङग्रेस र नेकपा एमालेबाट पुरानै संरचनाअनुसार स्थानीय निर्वाचन गर्नुपर्ने भन्ने धारणा आइसकेकोले यदि सहमतिको वातारण बन्ने भो र स्थानीय निर्वाचन हुने हो भने हामीले पनि कुनै आपत्ति नहुने बताए ।

उनले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा लैजानेबित्तिकै प्रतिपक्षी दलले गरेको आन्दोलन विडम्वना मात्र भएको उल्लेख गर्दै प्रतिपक्षी दलका नेताहरुले लगाएको राष्ट्रघातको आरोप बुझिनसक्नु भएको बताए ।

‘उहाँहरुलाई साथ दिंदा हामी राष्ट्रवादी हुने, साथ नदिंदा भने हामीमाथि राष्ट्रघातको आरोप लगाउने ? प्रश्न गर्दै प्रधानमन्त्रीले भने, ‘यस्तो घृणित राजनीति जनताले बिस्तारै बुझ्दै जानेछन् र यसले पछि आन्दोलन गर्ने दलहरुलाई नै समस्यामा पार्नेछ ।’

पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, कानूनमन्त्री अजयशङ्कर नायक, नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यहरु हरिबोल गजुरेल र विश्वनाथ साह साथै पोलिटब्युरो सदस्यहरु हरिनारायण चौधरी र रामकुमार यादवको पनि उपस्थिति रहेको थियो ।

तीन करोड ५० लाख रुपैयाँ खानेपानी तथा ढल निकासमा 

pm

यसैगरी प्रधानमन्त्री प्रचण्डले निर्वाचन क्षेत्र पूर्वाधार विकास क्षेत्र कार्यक्रममा केन्द्रबाट विनियोजित तीन करोड ५० लाख रुपैयाँ सम्पूर्ण रुपमा खानेपानी तथा ढल निकासमा खर्चिने समेत बताएका छन् ।

जिल्ला विकास समिति सिरहाद्वारा सिरहाको क्षेत्र नं. ५ स्थित मिर्चैयामा आयोजित निर्वाचन क्षेत्र पूूर्वाधार विशेष कार्यक्रमको बैठकमा प्रधानमन्त्रीले ढल निकास तथा खानेपानीलाई सुदृढ गर्न उक्त रकम खर्चिने प्रस्ताव गरेपछि सर्वसम्मितिले पारित भएको स्थानीय विकास अधिकारी सुरेश राउतले बताए ।

तीन करोड ५० लाख मध्ये खानेपानी तथा ढल निकासको लागि मिर्चैयामा एक करोड, गोलबजारमा ७० लाख, गोलबजार, घुर्मी तथा फुलबरियामा ७५ लाख, गौताडी, कल्याणपुर र बन्दीपुरमा ४५ लाख, सर्पदश उपचार सेवा केन्द्र बन्दीपुर र चोहर्वामा २० लाख, बडहरामाल ७ नं. वडा देखि ९ वडासम्म १० लाख लगायत विनियोजन भएको छ ।

सिरहाको क्षेत्र नं. ५ विशेषतः उत्तरी क्षेत्रमा पर्ने भएकोले वर्षेनी उक्त क्षेत्रभित्र खानेपानीको समस्या स्थानीयहरुले भोग्दै आइरहेको छ । ढल निकासको उचित व्यवस्था नहुँदा वर्षायाममा ग्रामीण एवम् शहरी क्षेत्र डुबान तथा हिल्लाम्मेको समस्या समेत भोग्दै आइरहेको आवाज स्थानीयहरुले उठाएपछि त्यसतर्फ प्रधानमन्त्रीले चासो देखाएका हुन् ।

जनवादी बिहेमा प्रधानमन्त्री जन्ती

wedding

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (माओवादी केन्द्र)का कार्यलय सदस्य मातृकाप्रसाद यादवको छोराको विवाह समारोहमा सरिक भएका छन् ।

बुधबार सिरहाको गोविन्दपुर वस्तिपुरका सोविन यादवकी छोरी कवितासँग  मातृकाप्रसाद यादवको छोराको विवाह भएको हो ।

जनवादी विवाह समारोहमा सरिक प्रधानमन्त्री प्रचण्डले विवाह भएका जोडीलाई सफल दाम्पत्य जीवनको शुुभकामना दिँदै मधेसमा दहेज प्रथा चरमरुपमा उक्लिरहेको बेलामा यस्तो विवाहले समाजलाई नयाँ सन्देश दिएको बताए ।

विवाहमा उर्जामन्त्री जनार्दन शर्मा, कानुुनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीहरु हरिवोल गजुरेल, विश्वनाथ साह, रामकुमार यादव लागायत सयौं माओवादी नेता कार्यकर्तासहित हजारौंको उपस्थिति रहेको थियो ।

जनवादी विवाह भए पनि वैवाहिक समारोहमा सरकारी तथा नीजि गाडीको ठूलो लाम लागेको थियो । विवाहमा कुनैपनि प्रकारको दहेज तिलक लेनदेन नगरिएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत