८ वर्षीय बालकको हत्यामा सङ्लग्न तीन जना प्रहरीको फन्दामा

saptari

१ पुस, सप्तरी । गत मंसिर ११ गतेदेखि अपहरणमा परेका सप्तरीको हरिपुर गाविस ३ निवासी रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको निर्मम हत्या भएको छ । हत्यामा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ ।

रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको मृत शरीर अपहरणमा परेको २० दिनपछि बिहीबार प्रहरीले छिमेकी पनेलाल साहको ट्वाईलेट हज भित्रबाट फेला पारेको हो ।

पहिचान खुल्ने डरले अपहरणकारीले अपहरण गरेकै दिन बालक साहको निर्मम हत्या गरी ट्वाईलेट हजभित्र लुकाएको अनुसन्धान खटिएका प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

साहको हत्यामा सङ्लग्न सोही गाविसका २७ वर्षीय चुडामणि ठाकुर, १९ वर्षीय रामबाबु गुप्ता साह र २२ वर्षीय कपिलदेव दासलाई बिहीबारै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

‘पाँच लाख रुपैयाँ फिरौती लिन बालकको अपहरण गरेको देखिन्छ’ प्रहरी उपरीक्षक लोहनीले भने– ‘तर, बालकले अपहरणकारीलाई चिनिसकेकाले र पहिचान खुल्ने डरले तत्कालै हत्या गरिएको अनुसन्धानवाट खुल्यो ।’

प्रहरीकाअनुसार अपहरण भएको तीन दिनपछि अपहरणकारी मध्येका एक चुडामणि ठाकुरले बालक साहको आमा ममतालाई एसएमएस गर्दै ५ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

ठाकुरले एसएमएस मार्फत छोरा ज्यूँदो चाहिए ५ लाख रुपैयाँ व्यवस्था गर्नु नत्र ज्यानै लिन धम्की दिँदै प्रहरीलाई खबर गरे नराम्रो परिणाम भोग्न तयार रहन चेतावनी समेत दिएका थिए ।

प्रहरीले सोही एसएमएसलाई आधार बनाएर सुक्ष्म अनुसन्धान थालेपछि अभियुक्तहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका अभियुक्तहरुकै बयानका आधारमा डिएसपी दान वहादुर कार्की र इन्स्पेक्टर राजेन्द्र यादवसहितको सुरक्षा टोली घटनास्थल पुगी बालक साहको मृत शरीर फेला पारेको हो ।

हत्यापछि मृत शरीर गायव पार्ने योजनाअनुरुप ट्वाइलेट हजमै बालक साहको मृत शरीर लुकाई राखी अपराधीहरु फिरौती माग्ने काममा लागेको डिएसपी कार्कीले बताए ।

पत्रकार सम्मेलनमा तीनै जना आरोपीलाई नकाव लगाएर उपस्थित गराइएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत