महेन्द्रबाट मुस्ताङको मानार्थ राजा पदवी पाएका ८६ वर्षीय जिग्मे पलबरको निधन

king-of-mustang

२ मंसिर, काठमाडौ । राजा रजौटा उन्मूलनपछि राजा महेन्द्रबाट मुस्ताङको मानार्थ राजा पदवी पाएका ३५ वर्षदेखि उच्च रक्तचापको रोगी रहेको तथा पछिल्लो समयमा निमोनियाबाट पीडित ८६ वर्षीय मुस्ताङी राजा जिग्मे पलबर बिष्टको राजधानीस्थित ओम अस्पतालमा शुक्रबार निधन भएको छ ।

 

राजा महेन्द्रले मुलुकमा राजा-रजौटा उन्मूलन गरे पनि भौगोलिक, सामरिक, साँस्कृतिक र भावनात्मक एकात्मकताका लागि चार राजा (सल्यान, बझाङ, जाजरकोट र मुस्ताङ) लाई आधिकारिक हैसियत र नेपाली सेनाको मानार्थ हैसियत प्रदान गरिएको मुस्ताङी राजा जिग्मेको ‘राजपाठको ५४ औं वर्ष’मा निधन भएको हो ।

राजा महेन्द्रले २०१९ सालमा राजा र जौटा उन्मूलन गर्दै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि राजतन्त्र र ‘राजा’ परम्परा औपचारिक रूपमा समाप्त भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइसकेको भए पनि मुस्ताङी राजा जिग्मेपलबर बिष्टको सामाजिक तथा सम्मानजनक हैसियतमा कुनै कमी आएन । उनी मुस्ताङी राजा रहिरहे ।

मुस्ताङको नेपालसँगको एकात्मकता, खम्पा विद्रोहको समाप्ति र उक्त क्षेत्रलाई नेपालको अविभाज्य भागका रूपमा राख्न मुस्ताङी राजाको अतुलनीय योगदान रहिआएको छ । केही वर्षदेखि अस्वस्थ रहँदै आएका राजा जिग्मेपलबर बिष्ट बौद्धस्थित आफ्नो निवासमा छोरा साङ्गीको रेखदेखमा थिए ।

निधनपछि राजा जिग्मेको शवलाई शुक्रबार बिहानै ओम अस्पतालबाट बौद्धस्थित उनको निवास त्रिकाल गुम्बामा लगिएको थियो । उनको अन्त्येष्टि बौद्ध परम्पराअनुसार सोमबार अपराह्न १ बजे टेकुघाटमा गरिने जानकारी राजाका छोरा जिग्मे सिङ्गीले दिएका छन् ।

राजाका सहयोगी डिल्लीराम तिवारीकाअनुसार जिग्मे फाउन्डेसन ट्रेकिङका संरक्षक मुस्ताङी राजा जिग्मे नेपाली भाषा कम बुझ्ने भए पनि नेपाल र नेपालीको विकासमा सधैं चिन्तित थिए ।

मुस्ताङी राजा राजनीतिकभन्दा धार्मिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षाप्रेमीका रूपमा परिचित छन् । मुस्ताङी राजा पलबरका उत्तराधिकारी जिग्मे सिङ्गी पलबर बिष्ट तथा ८३ वर्षीया पत्नी सिटोलपलबर बिष्ट छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत