विकास गएपछि सिम्रौनगढमा विकासको काम ठप्प : स्थानीय विकास मन्त्रीका प्रमुख स्वकीय किन मख्ख ?

३ पुस, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा कार्यालय प्रमुखमा पदस्थापन भएका विकास विक काज सरुवा भएर गएसँगै महिनौँ दिनदेखि कार्यालयमा प्रमुख नहुँदा नगरको विकासको काम ठप्प भएको छ ।

एक महिना अघि मात्रै यो नगरपालिकामा कार्यालय प्रमुखको रुपमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पदस्थापन गरी पठाएका अधिकृत विकास विक कार्यालयमा हाजिर भई हप्ता दिन पनि कार्यालयको काम नगरेर काज सरुवा मिलाई अख्तियार अनुसन्धानको मध्यमञ्ल कार्यालय हेटौडामा गएपछि कार्यालय प्रमुखविहीन हुन पुगेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र उनका प्रमुख स्वकीय सचिव जगन्नाथ खनालको अर्कमण्यता र ढिपीले गर्दा सिम्रौनगढ नगरपालिकामा समीक्षा गोष्ठीका साथै हालसम्म हुनुपर्ने योजना तर्जुमा हुन नसक्दा नगरपरिषदमा समेत बाधा पुगेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

स्थानीय विकास मन्त्री पाण्डे र उनका स्वकीय सचिव खनाललाई पटक–पटक भेट गरेर कार्यालय प्रमुख तत्काल पठाउनु भनी स्थानीय जनताले समेत मन्त्रालयमै पुगेर आग्रह गर्दा पनि उनीहरुले एकले अर्कालाई देखाएर टार्ने गरेको सिम्रौनगढका एक स्थानीयले बताए ।

विशेषत प्रमुख स्वीकय सचिव खनालले पार्टीभन्दा बाहिरबाट ठूला काम लिएर आएका व्यक्तिलाई मन्त्री क्वाटरमै भेट्ने समय मिलाउने तर पार्टीका जिम्मेवार नेता र कार्यकर्तालाई मन्त्रीज्यू व्यस्त हुनुहुन्छ भन्दै फोन गरेर मात्रै आउनुभन्दै फर्काएको भुक्तभोगीहरुको समेत गुनासो छ ।

स्वकीय सचिव खनालले पार्टीको नाम भजाएर पार्टीलाईभन्दा पनि आफूलाई हित हुने पात्र लैजान बाहनावाजी गरेको पार्टीका स्थानीय कार्यकर्ताले आरोप लगाएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा माओवादी केन्द्रका पिविएम समेत रहेका बारा जिल्लाका एक नेताले पटक पटक मन्त्री र स्वकीय सचिव खनाललाई ‘कार्यालय प्रमुख’ पठाउन आग्रह गर्दा स्थानीय विकास मन्त्रीका प्रमुख स्वकीय सचिव जगन्नाथ खनालले पूर्वराज्यमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका पिविएम ज्वाला साहले हरियो बत्ती देखाएकै कारण वाणिज्य मन्त्रालयमा कार्यरत रहेका शाखा अधिकृत सुनिल केशरीलाई सामान्य प्रशासन मन्त्रालयको बाटो हुँदै स्थानीय विकास मन्त्रालयमा आउन सहमति दिएका छन् ।

मन्त्रालयले महिना दिन अघि मात्रै पठाएका अधिकृत विकास विक कार्यालयमा हाजिर भएको केही दिनमै काज सरुवा मिलाएर हिँडे देखिनै स्वकीय सचिव खनालले मन्त्रीको आदेश भन्दै उक्त नगरपालिकामा आफूअनुकूलको पात्र पठाउन केही समय नाटक मञ्चन गरे । विकास विक काज सरुवा भएर गएसँगै खनालले उक्त नगरपालिकामा अधिकृत नै पठाउनु पर्ने भन्दै चोरबाटोबाट वाणिज्य मन्त्रालयमा रहेका शाखा अधिकृत सुनिल केशरीलाई स्थानीय विकास मन्त्रालयमा तानेका छन् ।

अब स्थानीय मन्त्रालयबाट सिम्रौनगढ नगरपालिकामा शाखा अधिकृत सुनिल केशरी कार्यालय प्रमुख बनेर गयो भने खनालको अनुहारमा चमक नआउने कुरै छैन भन्छन् सिम्रौनगढका स्थानीयवासी ।

बाराका माओवादी केन्द्रका नेता ज्वाला साहसँग मिलेर स्वकीय सचिव खनालले विकास विकको स्थानमा मन्त्री र मन्त्रालयको हवाला दिँदै सुनिल केशरी सरुवा गराई पठायो भने अन्यथा नमाने हुन्छ साथै नीतिगत कुरा गर्ने खनालले नीति भन्दा बाहिर गएर के कस्ता काम गर्दा रहेछन ? भन्ने प्रष्ट हुन्छ ।

यसैबीच बारा निवासी एक स्थानीयवासीले मन्त्री पाण्डे र स्वकीय सचिव खनाललाई सिम्रौनगढ नगरपालिकामा कार्यालय प्रमुख पठाउन पटक–पटक पहल गर्दा पनि अधिकृतको दरबन्दी भएकाले अधिकृत नै पठाउने भन्दै खनाल र मन्त्रीले कुनै चासो नदेखाउनु पछाडिको ‘खेल’ आर्थिक चलखेल बाहेक के हुनसक्छ ? भन्ने स्थानीय जनताको गम्भीर आरोप समेत छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत