न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिल जिम्मेवार हुनु – राष्ट्रपति भण्डारी

okil-programme

८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिल जिम्मेवार हुनुपर्ने बताएकी छिन् ।

नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच पुर्‍याउनका लागि सरकारी वकिलको योगदान हुने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा रहेको महान्यायाधिवक्ता र सरकारी वकिलले कानुनी शासन कायम राख्न क्रियाशील हुनुपर्छ ।’

राष्ट्रपति भण्डारीले मुलुकको लोकतन्त्र, शान्ति सुरक्षा, कानुनी शासन, दण्डहीनताको अन्त्य, मानवअधिकारको रक्षाका लागि फौज्दारी न्याय प्रशासन सुदृढीकरण गर्न सरकारी वकिलको क्रियाशीलताको अपरिहार्य रहेको बताइन् ।

समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतले गरिब, निमुखा र पछाडि परेका वर्गका लागि न्यायमा पहुँच अभियान सञ्चालन गरेको र त्यसलाई सहयोग गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण हुने बताइन् ।

कार्कीले सरकारको प्रतिरक्षा गर्ने सरकारी वकिलहरुले हेरेका धेरै मुद्दा प्रमाणको अभावमा हार्ने गरेको हुँदा आगामी दिनमा मुद्दाको सफलता वृद्धि गर्नुपर्ने बनाइन् ।

त्यसैगरी सभामुख ओनसरी घर्तीले संसद सञ्चालन गर्नका लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै दलहरुमा देखिएको विवाद छिट्टै समाधान हुनेमा आफू आशावादी रहेको बताइन् ।

तीन दिनसम्म सञ्चालन हुने सरकारी वकिलको राष्ट्रिय सम्मेलनको मूल नारा ‘प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा, व्यावसायिक सरकारी वकिल हाम्रो प्रतिबद्धता’ भन्ने रहेको छ । सम्मेलनमा देशभरबाट ३५२ सरकारी वकिल प्रतिनिधि रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत