अन्तर्राष्ट्रिय सीमा नियम विपरीत नोमेन्सलेन्डमै भारतीय गुम्बा निर्माण

९ पुस, पशुपतिनगर इलाम । भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र राङवाङग्राम पञ्चायतको बीचमा रहेको दसगजा क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा नियम विपरीत पक्की गुम्बा बनाउन थालेको छ ।

nepali-sima

भारतीय पक्षले चालीस वर्ष पुरानो गुम्बा मर्मत गर्ने बहानामा पक्की संरचना बनाउन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । निर्माण स्थल पुगेका सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरूले १४ वटा पक्की पिलर लगाएर निर्माण गर्न लागिएको जानकारी दिए ।

सीमा अधिकृत पनेरुले गुम्बा निर्माण समितिका अगुवा बुद्ध तामाङले भारत सरकारले नभनेसम्म काम नरोक्ने बताएको जानकारी दिए । स्थानीय अगुवा बुद्ध तामाङले पिलर लगाएर छानामा टिन लगाउने जानकारी दिएको पनेरूले बताए ।

केही समयअघि पशुपतिनगर आएको नापी विभागको टोलीले सीमा स्तम्भबाट भारततर्फको दसगजामा पर्ने क्षेत्रमा निर्माण गर्न लागेको गुम्बा ‘नोमेन्सलेन्डमै परेको’ प्रतिवेदन दिएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।

विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले सो क्षेत्र सीमा स्तम्भबाट भारततर्फको दसगजामै परेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी दाहालले सीमा क्षेत्रमा काम सुरु भएको जानकारी परराष्ट मन्त्रालय र गृह मन्त्रालयमा पठाइसकेको बताए । उनले भने, ‘दसगजामा अहिले भइरहेको गतिविधि अन्तर्राष्ट्रिय सीमा नियमविपरीत छ ।’

भारतीय पक्षले एक महिनाअघि गुम्बा निर्माणको तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माण नगर्न गरेको आग्रह विपरीत बिहीबार पूजा गरेर निर्माण थालेको हो ।

सहायक सीमा स्तम्भ ७१’७ र ७१’८ को बीचमा रहेको गुम्बा भारततर्फको दसगजामै परेको उनले बताए । अन्तर्राष्ट्रिय सीमा नियमअनुसार सो क्षेत्रमा दुवै देशले रेखदेख गर्नुपर्ने तर मानवीय क्रियाकलाप गर्न नपाइने नियम छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत