९ पुस, विराटनगर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनजाति लगायत समग्र उत्पीडित समुदायको मागलाई उपेक्षा गरेर जारी गरिएको संविधान केही व्यक्तिले बनाएको भन्दै संशोधन नभए संविधान नै खारेज गर्ने बताएका छन् ।
शनिबार फोरम नेपालको मोरङ जिल्ला एकता अधिवेशनलाई सम्बोधन गर्दै यादवले यसअघि सात वटा विभेदकारी संविधान खारेज भइसकेको भन्दै संशोधन गरिएन भने यो संविधान पनि खारेज हुने बताएका हुन् ।
‘यसअघि सात वटा विभेदकारी संविधान खारेज भइसकेको छ, संशोधन गरिएन भने यो संविधान पनि खारेज हुन्छ’ यादवले भने, व्यक्तिगत स्वार्थको लहडमा संविधान जारी गर्दा भएको गल्ती सुधान गर्न आलटाल किन ? हरेक वर्ग, जात, समुदायको माग सम्बोधनका लागि यदि तीन दल गम्भीर छन् भने सबैलाई मान्य हुनेगरी संविधान संशोधन गर्नुको विकल्प छैन ।’
उनले विश्व समुदायले समेत यो संविधानलाई त्रुटिपूर्ण भनिसकेको भन्दै सबैलाई मान्य र सर्वस्वीकार्य हुनेगरी संशोधन गर्नुको विकल्प नभएको बताए ।