प्रधानमन्त्री प्रचण्ड रुकुमको चुनवाङ पुगेर बोल्नै सकेनन् !

१० पुस, रुकुम । तत्कालीन नेकपा माओवादीले शान्तिपूर्ण जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रमा जाने गरी जनयुद्धको पार्टी लाइन परिवर्तन गरेको बैठक स्थल  रुकुमको चुनवाङ पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकैबेर बोल्न सकेनन् ।

chunwang

शान्तिपूर्ण जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रमा जाने गरी पार्टी लाइन परिवर्तन गरेको चुनवाङको भेरीडाँडास्थित बैठकस्थल र प्रचण्ड बसेको घरलाई सरकारले खरिद गरेर जनयुद्ध संग्रालय बनाउने घोषणा गर्न एघार बर्षपछि पुस ९ गते शनिबार चुनवाङ पुगेका प्रधामन्त्री प्रचण्ड कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निकैबेर बोल्न नसकेका हुन् ।

‘म लामो समयपछि तपाईंहरुलाई भेट्न पाउँदा निकै हर्षित छु’ भनिसकेपछि प्रधामन्त्री प्रचण्डको गहभरि आँसु र गला अवरुद्ध भएसँगै दर्शकदीर्घामा बसेका सहिद परिवारका सदस्यहरु रुन थालेका थिए । कार्यक्रम उदघाटनलगत्तै बोल्न माइक समातेका प्रधामन्त्री प्रचण्ड पटकपटक बोल्न खोजे पनि बोल्न सकेनन् ।

‘हजारौं जनताको बलिदानबाट गणतन्त्र आयो, त्यसमा ज्यान गुमाउनेहरु, योगदान गर्नेहरु तपाईं पाखा-पखेराका जनता हो’ प्रधामन्त्री प्रचण्डले भने, ‘तर तपाईंहरुको जीवनमा कुनै परिवर्तन आएको छैन, बरु एघार बर्षपछि आउँदा पनि उस्तै मायाँ दिइरहनुभएको छ, अब म तपाईंहरुको जीवनमा परिवर्तन ल्याउन सक्छु सक्दैन भनेर चिन्तित छु र विश्वास पनि छ कि जनताको जीवनस्तर सुधारका केही काम गरिनेछ ।’

झण्डै तीन हजार जनसंख्या रहेको सानो गाविस चुनवाङ त्यही ठाउँ हो, जहाँ प्रचण्डले जनयुद्धकालमा पहिलो सार्वजनिक भाषण गरेका थिए । जहाँ गाविसको एउटा वडाबाट अर्को वडामा पुग्न लामो समय पैदल हिड्नुपर्छ । तर पनि, चुनवाङवासीहरु विहानैदेखि हिडेर विभिन्न झाँकी जुलुससहित गाउँगाउँबाट उनलाई हेर्न चार घण्टा पैदल हिडेर समेतआएका थिए ।

२०६२ सालमा माओवादी केन्द्रीय समितिको बैठक बसेको हल तथा त्यतिबेला प्रचण्डले निवासको रुपमा प्रयोग गरेको घरलाई गुरिल्ला ट्रेल घोषणा गर्ने कार्यक्रममा प्रचण्ड आएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत