भारत्तोलन प्रतियोगितामा विभागीय टोली अग्रस्थानमा

1

सप्तरी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा सञ्चालन भइरहेको पुरुष तथा महिला भारत्तोलन प्रतियोगितामा विभागीय टोली नेपाली सेना ५ स्वर्ण ७ रजत र १ कास्य पदक प्राप्त गरी अग्रस्थानमा छ ।

त्यस्तै अर्का विभागीय टोली नेपाल प्रहरी ४ स्वर्ण, २ रजत र २ कास्यसहित दोस्रो स्थानमा छ । यसैगरी पूर्वाञ्चल २ स्वर्ण र १ रजतसहित तोस्रो स्थानमा छ ।

मंगलबार सम्पन्न महिलातर्फको ६९ केजी तौल समूहमा नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा १ सय ३६ केजी उचालेर स्वर्ण, नेपाली सेनाकी उषा खड्काले १ सय २५ केजी उचालेर रजत तथा नेपाल प्रहरीकी जानकी बुढाले १ सय १२ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।

महिला तर्फकै ७५ केजी तौल समूहमा पूर्वाञ्चलकी शान्ति चौधरी १ सय ३५ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गरेकी छिन् । सोही तौल समूहमा १ सय २६ केजी तौल उचालेर नेपाली सेनाकी मनु कुमारी बन रजत तथा १ सय २३ केजी उचालेर नेपाल प्रहरीकी लक्ष्मी वन काश्यपदक प्राप्त गरेकी छिन् ।

त्यस्तै पुरुषतर्फको ९४ केजी तौल समूहमा नेपाली सेनाका दिनेश श्रेष्ठले २ सय ६८ केजी तौल उचालेर नयाँ कीर्तिमान रच्दै स्वर्ण पदक हात पारेका छन् । उनले आफनै नाममा रहेको पुरानो २ सय ६४ केजीको कीर्तिमान भङ्ग गर्ने क्रममा स्न्याच तर्फ ११८ र क्लिन एण्ड जर्कतर्फ १५० केजी भार उचालेका थिए ।

नेपाल प्रहरीका श्रीकृष्ण महर्जनले २ सय १५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका उज्ज्वलकुमार झाले १७५ केजी उचालेर कास्य पदक प्राप्त गरेका थिए ।
पुरुष र महिला गरी १५ तौल समूहमा हुने प्रतिस्पर्धामा मंगलबारसम्म १२ तौल समूहको प्रतिस्पर्धा सकिएको तथा तीन तौल समूहमा बुधबार प्रतिस्पर्धा हुने भारत्तोल संघ सप्तरीका अध्यक्ष महेश यादवले जानकरी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत