संसदमा संविधान संशोधन र निर्वाचनसम्बन्धी विधेयक एकैसाथ टेबुल गर्ने सहमति

१३ पुस, काठमाडौं । संविधान संशोधन र निर्वाचनसम्बन्धी विधेयक संसदमा एकैसाथ टेबुल गर्ने सहमति भएको छ ।

sattarudh-morcha

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारूढ, मधेसी मोर्चा र संघीय समाजवादी फोरमका शीर्ष नेताबीचको छलफलमा संसद् अवरोधका कारण विधेयक नरोक्ने निष्कर्ष निकालिएको हो ।

मधेसी मोर्चाले संशोधन विधेयक संसदमा दर्ता भएदेखि नै उक्त प्रस्तावले आफ्नो माग सम्बोधन नगर्ने भन्दै विरोधमा उत्रेको उक्त विधेयक पास गरी जानुपर्ने भन्दै दुवै विधेयक संसदमा सँगै टेबुल गरेर जान सत्तारूढ पक्षसँग सहमति जनाएको हो ।

 मधेसी मोर्चाले संविधान संशोधनका लागि संसदमा दर्ता भएको विधेयकलाई समर्थन गर्दै त्यसमा अन्य विषयका लागि परिमार्जन विधेयक हाल्ने तयारी गरेको छ । सत्ताका दुई मुख्य घटक कांग्रेस र माओवादी केन्द्रका साथै मधेसी मोर्चा र संघीय फोरमका शीर्ष नेताहरू सहभागी बैठकमा एकैसाथ टेबुल हुने संशोधन र निर्वाचन विधेयकमा प्रतिपक्ष एमालेले अवरोध गरे विगतको संसदीय अभ्यासका आधारमा अघि बढ्ने पनि सहमति भएको छ ।

स्रोतका अनुसार एमालेले संसद् अवरोध गरे पनि अवरोधका बीच दुवै विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने रणनीति बैठकले बनाएको छ । संशोधन र निर्वाचन विधेयक पारित भएलगत्तै सरकारले वैशाख पहिलो साता स्थानीय निकाय निर्वाचन मिति तोक्ने तयारी गरिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेताहरू रामचन्द्र पौडल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत