पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीसँग सरकारले सोध्यो स्पष्टीकरण

१५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई राहत तथा पुनस्र्थापनाको काम सन्तोषजनक नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसँग स्पष्टीकरण सोधेको छ ।

gyawalee

सरकारले सचिव रामकुमार आचार्यका तर्फबाट पत्र पठाउँदै नेकपा एमाले नेतृत्वको सरकारको पाला नियुक्ति गरिएको ज्ञवालीलाई पदीय जिम्मेवारी अनुरुप काम नगरेको भन्दै सात दिनभित्र स्पष्टीकरण भनेको छ ।

ज्ञवालीको कार्यक्षमतामाथि प्रश्न उठिरहेको बेला सरकारले सोधेको स्पष्टीकरणबाट ज्ञवालीलाई प्रतिस्थापन गर्न खोजेको समेत आँकलन गरिएको छ ।

भूकम्प पीडितहरुले गतवर्ष जस्तै यो वर्षको हिउँदमा समेत पालमुनि बस्नुपर्ने नियति भोगिरहेका छन भूकम्पपछिको पुनर्निर्माणलाई नवनिर्माणको संज्ञा दिँदै सबै दलहरुले सामूहिकरुपमा अभियानकै उद्घाटन गरेपनि अहिलेसम्म सबै पीडितहरुले राहतवापतको अनुदान रकम प्राप्त गर्न सकेका छैनन् ।

सरकारले भने प्राधिकरण प्रमुखलाई बारम्बार यसबारेमा निर्देशन दिँदै आएको छ । प्रधानमन्त्रीले “हेलिकप्टरबाट भए पनि पीडितहरुलाई अनुदान दिन” निर्देशन दिएपनि त्यो पूर्ण पालना भने हुन सकेको छैन् । सरकारले भूकम्पपीडितहरुलाई ऋण र अनुदान मिलाएर ८ लाखसम्म सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

माओवादी नेतृत्वको सरकार गठन भएलगत्तै प्रधानमन्त्री प्रचण्डले ४५ दिनभित्र पीडितहरुलाई जसरी भएपनि अनुदान रकम वितरण गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । प्राधिकरणले सन्तोषजनक काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदले पटकपटक ज्ञवालीलाई निर्देशन र ताकेता दिने काम भएको थियो ।

डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माणको कामले गति नलिएपछि प्राधिकरणको नेतृत्वलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत