संविधान संशोधन विधेयक पारित नभए चुनाव गर्न नदिने मधेसी मोर्चाको चेतावनी

१५ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसदबाट संविधान संशोधन विधेयक पारित नभए चुनाव गर्न नदिने चेतावनी दिएको छ ।

बिहीबार र शुक्रबार बसेको मोर्चाको बैठकले संशोधन विधेयक संसदबाट पारित नभए चुनाव गर्न नदिने निर्णय गरेको हो ।

सरकारले विपक्षी दलको निरन्तरको संसद अवरोधपछि स्थानीय तहको निर्वाचनको मिति तोकेर राजनीतिक संकट समाधान गर्ने तयारी गरिराखेका बेला मोर्चाले संविधान संशोधन नभए निर्वाचन हुनै नदिने निर्णय गरेको छ ।

मोर्चाले संविधान संशोधनबिना चुनाव हुन नसक्ने अडान राख्दै संशोधन नगरी चुनाव घोषणा गरे बहिष्कार गर्ने रणनीति मोर्चाले बनाएको छ ।

संविधान संशोधन विधेयक पास गराउने देउवाको बचन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर संविधान संशोधन विधेयक पास गराउने बचन दिएका छन् ।

प्रधानमन्त्रीको आहृवानमा बालुवाटारमा बसेको बैठकमा देउवा र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भए लगत्तै दुई दिन आन्तरिक बैठकमा जुटेका मधेसी मोर्चाका नेताहरुले समय मागेर शुक्रबार देउवासहित कांग्रेस नेताहरुलाई भेटेका छन् ।

मधेसी मोर्चाका नेताहरुले कांग्रेसले चाहेमा संविधान संशोधन हुनसक्छ भनेर आफूहरुले सरकारलाई समर्थन गरेको भन्दै आफ्नो प्रतिवद्धताबाट पछि नहट्न आग्रह गरेका छन् ।

बालुवाटार बैठकमा देउवाले मधेसी मोर्चाले सहमति जनाए पनि नजनाए पनि चुनाव घोषणा गर्ने बताएपछि मधेसी मोर्चाका नेताहरु रुष्ट बनेका थिए । तर, शुक्रबारको छलफलमा देउवाले संशोधन विधेयक संसदमा टेबल गरेपछि सहमतिमै चुनावको मिति घोषणा हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत