ट्याक्सीमा कम्प्युटर बिलिङ नजोड्नेलाई कारवाही

taxi

१७ पुस, काठमाडौं। सरकारले काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली जडान गर्ने कामको सुरुवात गरेको छ । विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौँ उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरे, नगरेका बारेमा जाँच गरिसकिने जनाएको छ ।

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाई लागू गरेको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न र ट्याक्सीले पनि चलाएअनुसार पारिश्रमिक लिन यो नियम लागू गरिएको बताए ।

उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ ।

विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँच पास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

आजदेखि ट्याक्सी मिटर नवीकरण/नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटर मात्र नवीकरण/नामसारी गरिने महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

कम्प्युटर बिलिङ प्रणालीबाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लँदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बर लगायत हुनेछ । ट्याक्सी सञ्चालकलाई हालको मिटरमा प्रिन्टर जडान गर्दा पाँच देखि आठ हजारसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत