काँग्रेस, एमाले र माओवादी अधिकार लुटेको डाँका !

१९ पुस, सप्तरी । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस, एमाले र माओवादीलाई अधिकार लुटेको डाँका भएको आरोप लगाएका छन् ।

प्रेस मञ्च सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महतोले काँग्रेस, एमाले र माओवादीलाई अधिकार लुटेको डाँकाको संज्ञा दिँदै ती मध्ये कांग्रेस र माओवादी लुटिएको अधिकार दिन तयार भएपनि एमालेले दिन नचाहेर ठूलो डाँका बनेको आरोप लगाएका हुन् ।

महतोले एमालेलाई मधेसमुक्त बनाउन गाउँ-गाउँमा विदाई कार्यक्रम गर्न जनता जुटिसकेको दाबी समेत गरेका छन् । उनले एमालेलाई मधेस चाहिएन भने मधेसलाई पनि एमाले चाहिएको छैन भन्दै  एमालेलाई ब्याण्ड बाजा बजाएर मधेशबाट विदाई आयोजना गरिनु पर्ने बताए । साथै, एमालेले मधेशबाट आफ्नो विदाई भइरहेको खबर थाहा पाएपछि ठीक ठाउँमा आउने र संविधान संशोधनमा तत्परता देखाउने बताए ।

एमालेले संशोधन विधेयकमा छलफल रोक्ने गरी गरेको संसद अवरोध गैरलोकतान्त्रिक भएको बताउँदै महतोले एमाले संघीयता धरापमा पार्दै संविधान कार्यान्वयन हुन नदिने योजनामा रहेको बताए ।

मुलुकमा संविधान कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले संशोधन बिना संविधान कार्यान्वयन हुनै नसक्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत