सुन तस्करहरुमाथि गहिरो अनुसन्धान गर्नु पर्ने देखियो

२१ पुस, काठमाडौं । बिहीबार त्रिभुवन विमानस्थलबाट ३४ किलो सुन भित्रिएको समाचार बाहिर आएसँगै सुन तस्करहरुमाथि गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।

gold

अनलाइनखबरमा खबर छ, “नेपालगञ्जका गोपाल शाही बुधबार साँझ ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए । दुबईबाट एयर अरेबियाको जहाजमा काठमाडौं उत्रिएका शाहीसँग दुईवटा लगेज पनि थिए । उनका दुबै लगेज विमानस्थलमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीदेखि भन्सार कर्मचारी समेतले चेकजाँच गरे ।

एक्सरे मेसिनमा राखेर पनि हेरे । तर, उनीहरुले त्यसमा केही देखेनन् । लगेज सुरक्षितरुपमा भन्सारमा लगेर राखियो ।

बिहीबार दिउँसो करिब २ बजेतिर शाही भन्सारमा राखिएका आफ्ना लगेज लिन विमानस्थल पुगे । भन्सारबाट आफ्नो लगेज जस्ताको त्यस्तै बुझे र त्यहाँबाट बाहिरिए ।

विमानस्थलबाट निस्किएलगतै सादा पोशाकमा खटिएका सीआइबीका जवानले उनलाई नियन्त्रणमा लिए । किनकि, उनले ल्याएको त्यो सुडकेस चानचुने थिएन भन्ने सुइँको सुरक्षाकर्मीले पाइसकेका थिए ।

प्रहरीको नियन्त्रणमा रहेका शाहीले भने ‘मेरो सबै लगेज चेक भएको थियो । तर विमानस्थलको सेटिङ उतैबाट मिलाएको थियो, कसले मिलायो थाहा छैन ।’

शाही दुबईबाटै सुन बोकेर नेपाल आएका थिए । उनले सुन दिने व्यक्तिका बारेमा खुलाएका छैनन् । तर, नेपालमा सुनको जिम्मा लिने थप दुईजना पनि सीआइबीको घेराबाट उम्किन सकेनन् । बा ४ च ९११४ नम्बरको टेरिस गाडी लिएर सुन बोक्न पुगेका धनुषाका सन्तोष र मोरङका दिलबहादुर थापालाई पनि सीआइबीले पक्राउ गरेको छ ।

प्रहरी हिरासतमा रहेका थापाले आफूलाई सुन लिन भारतीय नागरिकले पठाएको बताएका छन् । उनको भनाइ छ- ‘मलाई भारतीय नागरिकले लिन दुबई पठाएका हुन्, दुबईबाट कसले ल्याउँछ, मलाई केही पनि भनिएको थिएन ।’

प्रहरीसँगको प्रारम्भिक वयानमा थापाले आफुले यसअघि पनि यसरी नै सुन बोकेको बताएका छन् । शाहीले दुबईबाट सुन पठाउने विवरण खुलाएका छैनन् ।

तस्करहरुले दुबईबाट सुन हालेर ल्याएको भाँडोलाई हेलिकप्टरको सामान भनेको बताइएको छ । तर, कसको हेलिकप्टरका लागि सामान ल्याइएको थियो खुल्न सकेको छैन । यो सुन नेपालकै चर्चित व्यवसायीहरुको हुन सक्ने ब्युरोका अधिकृतहरुको आशंका छ ।

सुटकेस फुटाउँदा के-के भेटियो ?

एयर अरेबियाबाट आएको सुटकेस र सुरुमा पक्राउ परेका शाहीलाई लिएर सीआइबीको टोली सिधै गौशाला प्रहरी वृत्तमा आए । त्यसपछि सीआइबीको टोलीले सुटकेर खोल्यो ।

सुटकेसभित्र प्लाष्टिकले बेरिएका भाँडाहरु थिए । त्यसभित्र बोतलजस्तो देखिने टेपले बेरिएको एउटा भाँडो पनि देखियो । निकै सकस गरेर प्रहरीले टेप निकाल्यो । फलामको जस्तो बोतलभित्र कालो टेपले बेरिएको अवस्थामा साना-साना सुनका लाप्साहरु देखिए ।

त्यहीँ कालो टेपभित्र १० तोला दरका सुनका बिस्कुटहरु थिए । दुईवटा सुटकेसभित्र तीनवटा फलामको भाँडोमा राखेर ल्याइएका २८२ सटा सुनका बिस्कुट, १९ वटा औंठी र १८ वटा सिक्री भेटिए । सबै गरेर लगभग ३४ किलो भएको एसपी मिरा चौधरीले बताइन् ।

नेपालमा मात्रै कि दुबईमै सेटिङ ?

दुबईबाट एयर अरेबियाको जहाजबाट आएको सुनैसुनले भरिएको सुटकेसले विमानस्थलको सुरक्षा व्यवस्था मात्रै पार गरेन, रातभरि यहीँ बस्यो । नेपालको विमानस्थलबाट त सुन समातियो । तर, सुरक्षामा राम्रो रहेको दाबी गर्ने दुबईको विमानस्थलबाट यो सुन कसरी छिर्‍यो ? यसले हाम्रो भन्दा पनि दुबई विमानस्थलको सुरक्षा फितलो प्रमाणित भएको छ ।

नेपालमा बन्दी जीवन बिताइरहेका ‘सिरियल किलर’ चाल्र्स शोभराजले त्यसै भनेका होइनरहेछन्, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट म हात्ती पनि छिराइदिन सक्छु ।

मुलुकको एकमात्रै अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा देशका सबै सुरक्षा संगठन खटिएका छन् ।

अध्यागमन विभागका कर्मचारीदेखि खुफिया एजेन्सीसम्म खटिएको विमानस्थलबाट हात्तीभन्दा महंगो सुन छिराउने दुस्साहसी युवाहरुलाई पक्रेर प्रहरीले विहीबार सार्वजनिक गर्‍यो । तर, यसमा संलग्न ठूलाहरु अझैसम्म जोगिइरहेका छन् ।

अभियुक्त भन्छन्- विमानस्थलमा पहिल्यै सेटिङ थियो

सीआइबीले हवाइमार्गबाट ल्याएको यति ठूलो परिमाणमा सुन बरामद गरेको पहिलोपटक हो । विमानस्थलको सबै सुरक्षा घेरा पार गरेर सुन काठमाडौंमा मात्रै आइपुगेन, रातभर विमानस्थलमै राखियो ।

रातभरि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारले किन यो सुनबारे पत्तो पाएन ? प्रहरी नियन्त्रणमा रहेका गोपाल शाही भन्छन्- ‘मैले उताबाट बोकेर मात्रै ल्याएको हो, भन्सार र विमानस्थलको सेटिङ उनीहरुले नै मिलाएका हुन् ।’

हत्कडी लगाएर राखिएका दिलबहादुर थापा पनि विमानस्थलका कर्मचारीकै सेटिङमा सुन आएको बताउँछन् । विमानस्थलबाट सुन कसरी सफलतापूर्वक बाहिर आयो र भन्सारका कर्मचारी एवं प्रहरीले नभेटेको सुन सीआइबीले मात्रै कसरी समाउन सक्यो ? यो जिज्ञासामा थापाले भने- भन्सारमै सबै सेटिङ हुन्छ ।

प्रहरी अधिकारी के भन्छन् ?

सीआइबीका प्रमुख डीआइजी नवराज सिलवाल तस्करहरुले यसरी हवाइ मार्ग प्रयोग गर्नु निकै संवेदनशील विषय भएको बताउँछन् ।

उनी भन्छन्- ‘नेपालमा डलर अभाव हुन थालेपछि हामीले अनुसन्धान गर्दै थियौं । अहिले हामीलाई दुबईबाटै सूचना आयो र त्यहीअनुसार यिनीहरु पक्राउ परे । तर भन्सारबाट कसरी सजिलै सुन बाहिर आउन सक्यो, यो आश्चार्यको विषय छ ।’ यत्रो परिणामको सुन तस्करीमा भन्सारभित्रै कसको सेटिङ थियो भन्ने अनुसन्धान गर्ने क्षेत्राधिकार आफ्नो पनि नभएको डीआइजी सिलवाल बताउँछन् ।

भन्सारकै कर्मचारीसँगको सेटिङविना यत्रो परिणामको सुन ल्याउन सम्भव नहुने ब्युरोका अधिकारीहरु बताउँछन् ।

के यो घटना प्रहरीको बहादुरीमा मात्रै सीमित हुन सक्छ ?

विमानस्थलबाट प्रहरीले ३४ किलो सुनसहित तस्करलाई पक्राऊ गरेको विषय सीआईबीका प्रहरी कर्मचारीको बहादुरीको विषय मात्रै बनिनुहुँदैन । यो नेपालको अर्थतन्त्र र सुरक्षाको लागि असाध्यै गम्भीर विषय हो ।

दुबईमा रहेका अन्तरराष्ट्रिय अपराधी दाउद इब्राहिमको सम्पत्ति जफत भइरहकेका बेला सोही मुलुकबाट यति ठूलो परिणाममा सुन भित्रिनु र यसमा भारतीय अपराधीहरुले नेपालको हवाइमार्ग प्रयोग गर्नु निकै नै सम्वेदनशील विषय हो ।

र, यस्तो अपराध विमानस्थलबाट पहिले पनि भएको अपराधीहरुले बताइसकेका कारण अब सरकारले विमानस्थल भन्सारका सबै कर्मचारीलाई र सुरक्षा जाँचमा बसेका प्रहरीलाई तुरुन्त त्यहाँबाट हटाएर नयाँ टीम पठाउन जरुरी छ । र, यति गरिसकेपछि उनीहरुमाथि छानविन आवश्यक छ ।

यसको साथै सुन तस्करीमा प्यादाका रुपमा प्रयोग गरिएका बेरोजगार युवालाई मात्रै समातेर प्रहरीको दायित्व पूरा हुँदैन । यो सुन कसले बुझ्ने गरेको थियो र यसको सेटिङ कहाँसम्म हुने गरेको थियो, त्यो पत्ता लगाउनुपर्छ । यसमा नेता, सरकारी हाकिम वा प्रतिष्ठित घरानाका व्यवसायीहरुको समेत हात भेटिए पनि त्यसलाई कारवाहीको दायरामा नल्याएसम्म ‘यति सुन भेटियो’ भनेर मनोरञ्जन मात्रै गरेर मुलुकको आर्थिक, सामाजिक सुरक्षा सम्भव छैन ।

त्यसैले यो सुनकाण्डलाई प्रहरीले कसरी लिन्छ र यसको अनुसन्धान कहाँसम्म लैजान्छ भन्ने विषय अहिलेका लागि अहम सवाल हो ।”

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत