२४ पुस, काठमाडौं । कानूनमन्त्री अजयशंकर नायकले व्यवस्थापिका संसदमा ‘नायक’को भूमिका खेलेपछि एमालेसहितका विपक्षी दल जिल्लिएका छन् ।
कानूनमन्त्री अजयशंकर नायकले सत्तापक्षबाट आइतबारको व्यवस्थापिका संसद बैठकमा ‘नायक’को भूमिका खेलेपछि संविधान संशोधन प्रस्ताव टेबल नै गर्न नदिने योजना बनाएका एमालेसहितका विपक्षी ९ दल जिल्लिएका हुन् ।
आइतबार संसद बैठकमा विपक्षीको होहल्लाका बीचबाट संविधान संशोधन प्रस्ताव टेबल भएको छ ।
कसरी भयो संविधान संशोधन प्रस्ताव टेबल ?
सर्वोच्च अदालतको आदेशलाई समेत विचार गर्दै एमाले सहितका ९ दलले संसदमा संविधान संशोधन प्रस्ताव बाहेक अन्य प्रस्तावमाथि छलफल गर्न दिने रणनीति बनाएको थियो । यही रणनीतिअनुसार आइतबार विपक्षीले संसदको बैठक अवरुद्ध गरेनन् र चल्न दिए ।
संसद बैठकमा गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचनसम्बन्धी विधेयकहरु टेबल गर्ने कार्यसूची थियो । तर, उनी संसदमा उपस्थित नै भएनन् । निधी अनुपस्थित भएपछि उनका तर्फबाट निर्वाचनसम्न्बन्धी विधेयक टेबल गर्न सभामुखले अजयशंकर नायकलाई रोस्टममा बोलाइन् । निर्वाचन सम्वन्धी विधेयक पेश गर्न एमालेसहितका विपक्षी दलहरुले सरकारलाई साथ दिए ।
कार्यसूचीमा संशोधन प्रस्ताव पछि : लोकमानको प्रस्ताव अघि
आइतबारको संसद बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्तावलाई अघि बढाउँदा विपक्षीले विरोध गर्ने थाहा पाएपछि सभामुखले संशोधन प्रस्तावलाई कार्यसूचीबाट पछाडि सारिन् र लोकमानसिंह कार्कीसम्बन्धी महाअभियोग प्रस्ताव टेबल गरिन् ।
सभामुख ओनसरी घर्तीले लोकमानको महाअभियोग प्रस्तावमाथिको छलफल सकिएको घोषणा गरिन् ।
त्यसपछि महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव गरिन् । यो प्रस्तावलाई विपक्षीसमेतले समर्थन जनाएपछि पारित भयो । र, महाअभियोगको प्रस्ताव समितिमा पठाइयो ।
कानूनमन्त्री नायकले ‘नायक’को भूमिका खेलेपछि विपक्षी दल जिल्लिए
कानूनमन्त्री अजयशंकर नायक निर्वाचन विधेयक र लोकमानसिंहको महाअभियोग प्रस्ताव प्रस्तुत गरिसके पछि रोष्टमबाट तल नओर्लिई माथि नै खडा भइरहे । र, त्यहीँबाट सभामुखले उनलाई संविधान संशोधन प्रस्ताव टेबल गर्न निर्देशन दिइन् ।
पहिल्यै रोष्टममा पुगिसकेका कानूनमन्त्री नायकलाई रोष्टममा चढ्नै नदिने तयारीमा रहेका विपक्षी नेताहरुले उनलाई रोक्न सकेनन् ।
उनले विपक्षी दलका नेताको होहल्ला र नाराबाजीका वीच संविधान संशोधन प्रस्ताव टेबल गरे । र, अब यो प्रस्ताव संसदमा मतदानका लागि औपचारिक प्रवेश पाएको छ ।
संविधान संशोधन प्रस्ताव पेश भइसकेपछि सभामुख घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।
- 337Shares
337