राजविराज विमानस्थल एक वर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य हुँदै

२८ पुस, राजविराज । पटक पटक बन्द हुने र सञ्चालनमा आउने नियति भोग्दै आइरहेको सप्तरीको राजविराज विमानस्थल एक वर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ ।

DSC09556

करिब ३० करोडको लगानीमा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यसहित सुरुभएको विमानस्थलको निर्माण कार्य गत मंसिर देखि सुरु भएको हो ।

२०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको विमानस्थलको निर्माण कार्य लक्ष्य अनुसार नै अघि बढे आगामी १ वर्ष भित्रै विमान सञ्चालन हुन सक्ने ठेक्दार कम्पनीका इन्जिनियर मणि गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

विमानस्थल निर्माणको ठेक्का कान्छाराम, रमण, देव एण्ड शायर जेभीले लिएपछि आगामी मंसिर भित्रै सम्पन्न गर्ने लक्ष्य अनुसार नै काम भइरहेको श्रेष्ठको भनाई छ । उनका अनुसार कम्पनीले भ्याटसहित ३० करोडमा विमानस्थलको निर्माण कार्य ठेक्का लिएको छ ।

हाल माटो र सव वेसको कार्य सुरु गरिएको र यसपछि वेस र पिचिङ्गको कार्य गरिने श्रेष्ठले बताए । आगामी मंसिरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने म्याद रहे पनि जेठ महिनाभित्रै काम सक्नका लागि आफूहरु प्रयत्नरत रहेको उनको भनाई छ ।

‘पिचिङ्गकालागि चैत्रदेखि जेठसम्मको समय उपयुक्त हुन्छ’ उनले भने ‘हामी त्यस अवधिभित्रै काम पूरा गर्ने प्रयासमा छौं ।’

एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

विमानस्थलको स्तरोन्नती पछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको भनाई छ ।

विमानस्थलको स्तरोन्नतीका लागि जिल्ला विकास समिति सप्तरीले छुट्याएको रु. २ करोड बजेटबाट हवाई मैदानको घेरवेर गर्ने काम समेत थालिएको छ । कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकिरहेको थिएन ।

पञ्चायतकालमा काठमाडौ र खोटाङ्गको लामीडाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदैआएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत