सप्तरीका विभिन्न जलाश्य किनारमा मनाइयो कोशी मेला

vlcsnap-2017-01-12-14h53m55s82

सप्तरी । सप्तकोशीमा नुहाई धुवाई गरी पवित्र भई नदी किनारमा मिष्ठान भोजन गर्दै रमाइलो गरेर हरेक वर्ष बनाउने कोशी मेला यसपल्ट पनि भव्यताका साथ बिहिबार सप्तरीका विभिन्न जलाश्य किनारमा मनाइएको छ ।

मेला भर्ना विशेष गरी भारदह एक स्थित कोशी ब्यारेज, ओद्राहास्थित मेगरिन चुरिया, वैरवा गाविसको मलकौर र जगतपुर गाविसको झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा सर्वसाधारणको भिड लागेको थियो ।

भारदह गाविस वडा नम्वर–१ स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको थियो । ओद्राहा तथा कोशी व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पुर्णिया, लौकही, मधुवनीलगायतका जिल्लाहरुबाट कोशी स्नान गर्न सर्वसाधारणहरु आएका थिए ।

सवारी साधन सहज रपमा पुग्न सक्ने ब्यारेज बाहेक चार पांग्रे गाडीको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरि घुइँचो लागेको थियो ।

कृषि मेलाको रुपमा समेत चिनिने यो मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि पनि महत्वपूर्ण मानिन्छ ।

पुस महिनाको शुक्ल पुर्णिमाका दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचाखो खाने चलन रहिआएको छ । यस दिन भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु खाने प्रचलन रहेको छ ।

कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक विश्वास पनि रहेको छ ।

परापूर्वकालमा मंसिर महिनामा खेतमा रहेको धान भित्र्याई सकेपछि एक महिनासम्म लाग्ने गरेको मेला समय र परिस्थितिसँगै घटेर एक दिनमा सीमित भएको जानकारहरु बताउँछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत