गण्डक नहरको सडकखण्ड खाल्डाखुल्डीमा परिणत

३ माघ, काठमाडौं । पर्सा, बारा, रौतहटको सहायक तथा अति नै व्यस्त सडकखण्डको रूपमा चिनिने गण्डक नहरको बाटो खाल्डाखुल्डीको रूपमा परिणत भएको छ ।

Gandak

सडकको अवस्था दिनानुदिन बिग्रिँदा पनि मर्मत सम्भारमा स्थानीय प्रशासन मौन रहेको यात्रुहरुको गुनासो रहेका छन् ।

गण्डक नहरको बाटो पर्सामा २४, बारामा ३० र रौतहटमा २५ गरी कूल ८१ किलोमिटर लम्बाइ छ ।

पर्साको लिपनीबिर्ता, उदयपुरघुर्मी, बहुअरी पिडरी, महुवन, निचुटा, भिखमपुर गाविसमा पर्ने नहरको बाटो एकदमै बिग्रेको बस व्यवसायीहरूले बताएका छन् ।

त्यस्तै बाराको बहुअरी, भलुही भरवलिया, फेटा, पचरौता, बेनौली, सिम्रौनगढ लगायतका क्षेत्रमा पनि गण्डक नहरको बाटो धूलाम्मे तथा खाल्डाखु्डी परेको छ । नहरको बाटोमा ओभरलोड गाडी गुडाउँदा सडक बिग्रेको नारायणी सिंचाई डिभिजन ५ नम्बरका इन्जिनियरहरूले बताएका छन् ।

जिविसले नहरको बाटोमा कर उठाएको तर सडक सुधारको लागि एक रुपैयाँ पनि खर्च नगर्दा बाटोको यस्तो दुरवस्था भएको नेपाल पूर्वी नहर गण्डकका सुपरभाइजर हरेन्द्र कुर्मीले बताए ।

यस विषयमा जिल्ला विकास समिति बाराका स्थानीय विकास अधिकारी मदनप्रसाद ढुङ्गेलले गण्डक सडकमा कालोपत्रे गर्ने योजना सडक विभागले अघि सारेकाले सडकको मर्मत सम्भार नगरिएको बताए ।

कहिलेसम्म सडक कालोपत्रे हुने भन्ने विषयमा सडक विभाग हेटौंडाका प्रमुख कमलेश झासँग बुझ्दा उनल कालोपत्रे योजना विभागको केन्द्रीय बजेटमा परेको आपूmलाई जानकारी भएको तर कार्य कहिलेदेखि शुरू हुने जानकारी नभएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत