लोकतन्त्रका बाइप्रोडक्टः खिलराज, लोकमान र दामोदर

काठमाडौं । नेपाली राजनीतिमा भारतको माइक्रो म्यानेजमेन्ट कार्यान्वयनमा भूमिका खेल्ने तीन पात्रका रुपमा लोकमानसिंह कार्की, खिलराज रेग्मी र दामोदरप्रसाद शर्मालाई लिने गरिन्छ ।

यिनीहरु भारतका पाइलट बाबा लगायतका जोगीहरुका अनन्य भक्त हुन्, जसले साधुको भेषमा नेपालको लोकतन्त्रमाथि करौंती चलाए ।

lokman-damodar-and-khilraj

यी तीनमध्ये लोकमान अख्तियारबाट बर्खास्तीमा परेका छन् । र, शक्तिहीन भएपछि आइतबार दिल्लीतिर लागेका छन् । उनी क्यानडामा सिफ्ट हुने तयारीमा छन् ।

पूर्वप्रधान न्यायाधीश शर्मा सुटुक्क देशबाट पलायन भएर हरिद्वारमा आफ्नो बन्दोबस्तीका साथ बस्न थालिसकेका छन् ।

चलाख रेग्मीचाँहि छोराछोरी र नाति नातिनालाई अमेरिकामा घरबारको बन्दोबस्त गराएर कहिले नेपाल त कहिले अमेरिकामा बस्दै आइरहेका छन् ।

अमेरिकामा तीन पुस्ताका लागि बन्दोबस्ती गराइसकेका पूर्वप्रधानन्यायाधीश रेग्मी फेरि पनि सत्ताभोगका लागि नेपालको संवैधानिक निकायमा एकपटक पुग्ने दाऊमा छन् ।

गत राष्ट्रपतिको चुनावताका रेग्मीले हरिद्वार पुगेर भाकल गरेका थिए । त्यसपछि उनी स्वतन्त्र नागरिकका तर्फबाट भन्दै राष्ट्रपति बन्ने कसरतमा लागेका थिए । तर, विद्या भण्डारी राष्ट्रपति बनिन्, रेग्मी असफल भए ।

जतिबेला अलोकतान्त्रिक डिजाइनमा खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट संविधानलाईसमेत मिचेर प्रधानमन्त्री (मन्त्रिपरिषद अध्यक्ष) बनाउन दलका शीर्ष नेताहरु तयार भए, त्यसबेला रेग्मीले न्यायालयको इतिहासमै कालो दाग लगाएर पदलोलुपता प्रदर्शन गरे ।

रेग्मीको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । तर, प्रधानन्यायाधीशको कुर्सीमा उनै दामोदर शर्मा आए, जसले रेग्मी सरकारमा रहुञ्जेल मुद्दाको फैसला रोकेर राखे र न्यायालयलाई पेन्डुलम बनाए ।

त्यहीबेलामा खिलराज रेग्मीकै जोडबलमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाइयो । लोकमानलाई अख्तियार प्रमुख बनाउने काम असंवैधानिक थियो भन्ने अहिले सर्वोच्चले पुष्टि गरिसकेको छ । तर, त्यस्तो असंवैधानिक काम गर्न उक्साउने र लोकतन्त्रलाई गिजोल्ने मध्येका एक प्रमुख पात्र थिए खिलराज रेग्मी, जसलाई कसैले कारवाही गर्नु परेन र उनी अहिलेसम्म जोगिएका छन् ।

यतिबेला लोकमानसिंह कार्की संविधान र कानूनको कानूनको कठघरामा उभिइसकेका छन् । तर, न्यायालयलाई विवादमा तान्ने र आफूसँगै लोकमानलाई शासनको बागडोरमा पुर्‍याउन भूमिका खेलेका रेग्मीले भने राष्ट्रपति बन्ने सपना देखिरहेका छन् ।

लेखेको भाषणमात्रै पढ्ने, हेर्दा सामान्यजस्तो देखिने तर पदका लागि मरिहत्ते गर्ने रेग्मी उनै व्यक्ति हुन्, जसले सर्वोच्च अदालतका न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेकोमा त्यसलाई समेत रोक्ने र लुकाउने काम गरे ।

अमेरिकामा तीनपुस्ताका लागि बन्दोबस्ती गरेका रेग्मीले मन्त्रिपरिषदको अध्यक्ष रहुञ्जेल आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् । र, अरु मन्त्रीहरुको पनि सम्पत्ति सार्वजनिक गर्न लगाएनन् । उनले जानीजानी कानूनको अटेर गरे ।

त्यसो त रेग्मीले पहिलो संविधानसभा विघटन नगरेको भए त्यसले तथा महिनाभित्र संविधान लेख्न सक्ने स्थिति थियो । तर, रेग्मीले आफैं संविधानसभा विघटन गरे र आफैं सरकार प्रमुखको कुर्सीमा गए । यसले संसदको सर्वोच्चता र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई मात्रै खल्बल्याएन, मुलुकको संक्रमणकाललाई लम्ब्याउने काम गर्‍यो ।

नेपालका राष्ट्रवादी राजनीतिक विश्लेषकहरु यो सबै काम छिमेकीको इच्छा र डिजाइनमा गरिएको बताउने गर्छन् । र, यसका मुख्य खेलाडीहरु उनै थिए- खिलराज, लोकमान र दामोदर ।

कालोधनमाथि छानविन होस्

भारतमा कालोधनको मुद्दा निकै चर्को रुपमा उठ्ने गरेको छ । तर, नेपालमा भने विमानस्थलबाट आधा क्विन्टल सुन भित्रिँदा पनि यसबारे सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग गम्भीर हुन सकेको देखिँदैन ।

सरकार प्रमुख हुँदा पनि सम्पत्ति सार्वजनिक नगरेका खिलराज रेग्मीमाथि अख्तियारले छानविन गर्ने प्रश्नै थिएन, किनभने लोकमानसिंह कार्की खिलराजकै मानिस थिए । तर, अहिले पनि खिलराजमाथि न अख्तियारले औंलो ठड्याएको छ, न त सम्पत्ति शुद्धीकरणले नै ।

सबैले स्पष्ट देखेका छन्, खिलराजले अमिरिकामा घरजम जोडेका छन् तर, उनले सार्वजनिक पदमा बसेर पनि सम्पत्ति सार्वजनिक गरेनन् ।

लोकमानसिंह कार्कीको हकमा पनि उनको सम्पत्तिमाथि छानविन गर्न राज्यले कुनै चासो दिएको छैन । दामोदरले त आफ्नो अदृश्य कमाइबाट विदेशमा अचल सम्पत्ति जोडिसकेका छन् । तर, यसमा नेपाल सरकारलाई कुनै चासो छैन ।

अहिले नेपालको विमानस्थल र भन्सार कार्यालयहरुमा जसरी कर्मचारीकै मिलेमतोमा तस्करीको धन्दा मौलाएको छ । यसका पछाडि लोकमानसिंह कार्की, खिलराज रेग्मी र दामोदर शर्माका पालामा मौलाएको दण्डहीनता र ठूलामाछाको चलखेल मुख्य आधार रहेको प्रशासकहरुले बताउने गरेका छन् ।

अब सरकारले बेलैमा सतर्क भएन भने भ्रष्टाचारीहरुका कुम्ल्याएको सम्पत्तिले अमेरिका, भारत र क्यानडामा महलहरु ठडिन थाल्ने छन् ।

सर्वोच्च अदालतले दोषी ठहर्‍याइसक्दा पनि अकूत सम्पत्ति कमाएको आरोप लागेका लोकमानलाई सरकारले कुनै वास्ता नगर्दा उनी आफूले आर्जन गरेको सम्पत्तिसहित विदेश जाने ताकमा छन् ।

संसदले महाअभियोग लगाएको व्यक्तिको पासपोर्टसमेत सरकारले रद्द गर्नुपर्छ भन्ने सोचेन ।

आखिर नेपालबाट कालोधन विदेश जानबाट रोक्नका लागि किन सरकार सम्वेदनशील छैन ? शायद सरकार बसेकाहरु पनि त्यस्तै भ्रष्ट भएर हो कि ?

यहाँ अर्थमन्त्रीलाई सुन तस्करको आरोप लाग्छ, तर उनी म त भुरा हुँ भन्ने लाचार जवाफ दिएर पन्छिन्छन् । विमानस्थलबाट सुन तस्करी हुन्छ, सरकारले महिना दिन हुन लाग्दा पनि दोषीहरु जनसमक्ष ल्याउन सक्दैन । र, उल्टै बहालवाला मन्त्रीलाई नै तस्करको आरोप लाग्छ । यो स्थितिमा नेपाल तस्कर र भ्रष्टहरुको थप क्रीडास्थल बन्ने चिन्ता घट्नुको साटो अझ बढेको छ । अनलाइनखबरमा समाचार टिप्पणी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत