नालापानी युद्धको इतिहास त्रुटीपूर्ण भएकाले सच्याउन पहल सुरु

१३ माघ, काठमाडौं । थाहा अध्ययन प्रतिष्ठानले नालापानी युद्धको इतिहास त्रुटीपूर्ण भएकाले सच्याउन पहल सुरु गरिएको बताएको छ ।

प्रतिष्ठानका अजेय सुमार्गीले हालै थाहा अध्ययन प्रतिष्ठानको टोली नालापानीको भ्रमण गरेर फर्किएपछि नेपाल-भारतको संयुक्त अध्ययन टोली गठन गर्ने र वास्तविक इतिहास बाहिर ल्याउने बताएका हुन् ।

टोलीमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरु, भारतीय जनता पार्टीका नेता बिजय जोली र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय समेत थिए ।

नालापानी बलभद्र कुँवरको नेतृत्वमा नेपाली टोलीले अंग्रेज फौजसँग बीरतापूर्वक लडेको स्थान हो जुन हाल भारतमा पर्दछ ।

हाल नालापानीबासीले खलंगा संरक्षण समिति गठन गरेका छन् । सन् २००५ मै गठन भए पनि सो समितिले बजेट अभावमा उल्लेखनीय काम गर्न सकेको छैन ।

पाठ्यपुस्तकहरुबाट समेत नालापानी सम्बन्धी पाठ हटाइएकोमा असन्तुष्टी जनाउँदै सुमार्गीले नालापानीलाई राष्ट्रियताको लडाईंसँग जोड्नुपर्ने धारणा राखे । ‘सुगौली सन्धी भएदेखि देश ओरालो लागिरहेको छ । देश चिरा-चिरा पर्ने खतरा छ । नालापानी र बलभद्र कुँवरहरुको इतिहासबाट अब आशाको दीयो बाल्नुपर्छ ।’

उनले राजधानीमै बलभद्रको शालिक बनाउने र सार्बजनिक ओहोदामा पुगेकाहरुले सपथ खाँदा बलभद्रको शालिक अगाडि उँभिएर सपथ खानुपर्ने प्रस्ताव समेत गरे ।

कार्यक्रममा कांग्रेस नेता बीरबहादुर बलायर, एमाले नेता कर्णबहादुर थापा, माओवादी नेताहरु लिलामणी पोखरेल, शशी श्रेष्ठ र रामनारायण बिडारीले नालापानीको उचित संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेतृ श्रेष्ठले बलभद्र कुँवरलाई अमरसिंह थापाको नाति उल्लेख गरिएको भन्दै त्यसको सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् । उनले भारतीय जनता पार्टीका नेता बिजय जोलीसँगै नालापानी पुग्दा आफूहरु नेपालमै भएको र जोली नेपाल घुम्न आएका पाहुना जस्तो भएको बताइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत