तामाङ उत्पीडन र मुक्तिको प्रश्न : अस्तित्व रक्षाका लागि अघि बढौँ, सोनाम ल्होछारको शुभकामना !

काठमाडौं । यहाँका जातजातिको आफ्नै भूगोल, आफ्नै भाषा, आफ्नै धर्म, आफ्नै संस्कृति र पहिचान रहेका कारण नेपाललाई बहुजाति बहुभाषा, बहुधर्म, बहुसंस्कृतिको धनी देश मानिन्छ ।

अरुण लामा घिसिङ

अरुण लामा ‘घिसिङ’

तराईको समथर भू–भागदेखि महाभारतको चुरे पर्वत हुँदै सगरमाथाको चुचुरोसम्मको भौगोलिक बनावट, हावापानी र यहाँका विभिन्न जातजाति एवम् समुदायको भाषा, संस्कृति र पहिचानकै कारण हामीले सगर्व विविधताको धनी देश नेपाल र नेपाली हौं भनेर गर्व गर्न पछि परेका छैनौं ।

इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले राष्ट्रिय एकताको नाममा थुप्रै राष्ट्रियतालाई दबाउँदै एक प्रकारको राष्ट्रियतालाई मात्रै संरक्षण सम्बर्धन गरेका कारण हिमाल, पहाड र तराई बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको वास्तवमै एकता हुन सकेन ।

कैैयन जातजातिलाई राज्यको पहुँचबाट वञ्चित गराइयो । जसको कारण राज्य संरचनाप्रति वितृष्णा पैदा गरायो । अन्ततः वितृष्णा साम्प्रदायिक सोचमा परिणत हुँदै जाने अवस्था सिर्जना हुँदै गइरहेको देखिन्छ । जुन हुनु हुँदैन ।

केन्द्रिकृत सामन्तवादी एकात्मक राज्यसत्ताको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राज्यबाट उपेक्षित उत्पीडित वर्ग, जातजाति, स्वायत्तता र आत्मनिर्णयको अधिकारको कुरा उठाउने नेताहरु र पार्टीहरु पनि जातीय स्वायत्तताको मन्त्र जपेर बसिरहेका छन् ।

यसले के उत्पीडित जातजालिाई मुक्ति दिलाउन सक्छ ? उनीहरुसँग सक्छ भन्ने कुनै आधार देखिँदैन । जसको उदाहरण उत्पीडित जात मध्येको एक हो तामाङ जाति ।

आदिवासी जनजाति मध्येको तामाङ जाति आदिम कालदेखि नै काठमाडौं खाल्डोको वरिपरि बसोबास गर्दै आएको जाति हो । यो जातिको आफ्नै भाषा, धर्म र संस्कार भएतापनि शैक्षिक, आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक भाषिक, धार्मिकलगायत विभिन्न क्षेत्रमा पछाडि रहेको कुरा जगजाहेर नै छ ।

नेपाल एकीकरणको नाममा मुसलमानसँग धार्मिक युद्धमा हार खाए पश्चात् नेपाल भित्रिएका जातिलेे अन्ततः पृथ्वीनारायण शाहको नेतृत्वमा सैन्य आक्रमण गर्दै यहाँको विभिन्न जातजातिहरुको किपटभूमि गणराज्यमाथि कब्जा जमाउँदै एकल केन्द्रीकृत सामन्ती राज्यको किल्ला गाड्यो ।

तिनै सामन्ती सत्ताले एक देश, एक भाषा, एक धर्म, एक संस्कृति, एक भेषको मिठो सपना बाँडेर एकल जातीय हिन्दु अहंकारवादी राज्य बनायो । जसको कारण इतिहासको यस अवधिमा सबैभन्दा बढी दमन र उत्पीडन तामाङ जातिले भोग्नु प¥यो ।

इतिहासको एउटा कालखण्डमा तामाङ जातिले तामाङ लेख्न र भन्न समेत हिनताबोध गर्नुपर्ने स्थिति पैदा भयो । पठन पाठनमा समेत प्रतिबन्ध गराइयो । अर्कोतिर मासिने जनजातिको संज्ञा दिइयो । ताकी जुनसुकै बेला जात परिवर्तन गर्न सक्ने अवस्था बनायो । राज्यको संरचना निजामती, सेना, प्रहरीमा मात्र नभई ब्रिटिस र इण्डियन सेनामा समेत जागिर खानु परेको खण्डमा थापा, घले, गुरुङ लेखाउनु पर्ने बनायो ।

देशले यतिबेला नयाँ संविधान पाएको छ । तर, अधिकार प्राप्तिको सवालमा तामाङ जाति लगायत उत्पीडित जातजातिको अधिकारलाई अंशमा प्राप्ति जस्तो देखिए पनि सारतः कुण्ठित गरिएको अवश्था छ । जसले नयाँ द्वन्द्वको स्थिति पैदा गराइदिएको छ ।

२००७ र २०४६ साल पछिको परिवर्तनको अवधिमा बनेको संविधानमा आधारभूत तहका जनताका सवालहरु समावेश नगरिएकाले देशले यो दुर्दशा व्यहोर्नु परेको कुरा सबैको सामु छर्लङ्ग छ ।

सामन्ती राज्य प्रणालीले गरेको विभेद, शोषण, उत्पीडनमा परेको महिला, दलित, जनजाति, आदिवासी, मधेशी, अपाङ्ग एवम् कर्णाली लगायत दुर्गम हिमाली क्षेत्रमा बसोबास गर्ने जातजाति एवम् वर्गीय उत्पीडन साथै आर्थिकरुपमा विपन्न समुदायहरुलाई समावेशीकरणको नीति अन्र्तगत आरक्षणको व्यवस्था समेत गरिनु पर्दछ ।

विगतमा नेपाली जनताले पटक पटक धोका पाइसकेको हुनाले अब जनताले कहिल्यै धोका नपाउने गरी एकात्मक सामन्ती राज्य व्यवस्थाको सम्पूर्ण आर्थिक, राजनीतिक, सामाजिक लगायतका आधारहरुलाई समेत भत्काउनु जरुरी छ ।

यहाँका आदिवासीको मौलिक भाषा, धर्म, भाषा, संस्कृति, छुट्टाछुट्टै पुर्खौली भूमिलाई तथाकथित एकीकरणको नाममा भूमिपति तामाङ जातिको अस्तित्व र जातीय स्वशासनमाथि ठूलो कुठराघात गरिएको छ । जसका कारण तामाङ जातिको आर्थिक, शैक्षिक, भाषिक, साँस्कृतिक, सामाजिक, एवम् राजनैतिक पक्ष कमजोर बन्न पुगेको छ ।

संविधान संशोधनका क्रममा समावेशीकरणको मुद्दा, राज्यको पुनःसंरचनाको सवालमा ताम्सालिङ निर्माण एवम् जातीय स्वशासन अन्तर्गत तामाङहरुको पुख्र्यौली भूमि पूर्वमा दुधकोशी, पश्चिममा बुढी गण्डकी, उत्तरमा हिमालय पर्वत चीनको सिमाना र दक्षिणमा चुरे पर्वतसम्म साथै विशेष गरी काठमाडौं उपत्यका वरिपरिको जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा लगायतका जिल्लाहरु तामाङ जातिको ऐतिहासिक र बाहुल्यताको पुख्र्यौली भूमि भएकाले यस क्षेत्रलाई संघीय ताम्सालिङ स्वायत्त राज्य वा प्रदेश भनी घोषणा गरिनु पर्दछ ।

ताम्सालिङ सम्पूर्ण तामाङ जातिको आत्मनिर्णयको अधिकारको आधारमा स्वतन्त्रतापूर्वक आफ्नो राजनैतिक पद्धति निर्धारण गर्ने, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, भाषिक, प्रशासनिक तथा न्यायीक क्षेत्रको विकास लगायत सम्पूर्ण सवालमा आफैँ निर्णय गर्ने अधिकार निहित हुन्छ । त्यसैले हाम्रो जातिको अस्तित्वको रक्षा, राष्ट्रिय सम्पदाको रक्षा, संघीय ताम्सालिङ गणराज्य चाहने सम्पूर्ण तामाङ जातिको सामूहिक सचेतना तथा संकल्प, एकता र प्रयासले मात्र यो सम्भव छ ।

ताम्सालिङ गणराज्य प्राप्तिका लागि सम्पूर्ण तामाङ संघ–संस्था, बुद्धिजीवी, स्वतन्त्र व्यक्ति सबै एउटै छानो मुनि गोलबन्द भई आफ्नो अस्तित्व रक्षाका लागि अघि बढौँ, तामाङ समुदायको पर्व २८५३औं सोनाम ल्होछारको शुभकामना !

लेखक, पूर्वजनमुक्ति सेनाका प्लाटुन  कमाण्डर हुन् ।

  •  
    202
    Shares
  • 202
  •  
  •  
  •  

तपाइको मत