शहीद स्मारकमा फूलमाला अर्पण गरी शहीदहरुप्रति श्रद्धान्जली व्यक्त

१६ माघ, काठमाडौं । आज माघ १६ गते ‘शहीद दिवस’ शहीद सप्ताहको सातौं दिन शहीदको स्मरण र सम्मानमा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारीले ज्ञात-अज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शहीदहरुले निर्बाह गरेको भूमिकाको स्मरण गरेकी छन् ।

संविधानसभाबाट संविधान जारी भएसँगै शहीदहरुको सपना पूरा हुँदै गएको उल्लेख गर्दै उनले देशमा अब आर्थिक विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताएकी छन् ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारकमा फूलमाला अर्पण गरी शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आयोजनामा आयोजित श्रद्धान्जली सभामा सभामुख ओनसरी घर्ती मगरसँगै मन्त्रीहरु, सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदी, प्रधानसेनापति, प्रहरी महानिरीक्षक लगायतले शहीदप्रति श्रद्धान्जली अर्पण गरे ।

प्रधानमन्त्रीले शनिबार साँझ विज्ञप्ति जारी गरेको विज्ञप्तिमा ‘माघ १६ नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो’ उल्लेख गरेका छन् ।

‘शहिद दिवस, २०७३ को यस अवसरमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरुको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा महान् शहीदहरूको योगदान उच्च रहेको छ । देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहीदहरूको योगदान सधैँ स्मरणीय रहनेछ ।’

‘राणाकाल शुरु हुनु पूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत् नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध बनाउन शहिदहरूको सपना तथा योगदान सधैं प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीद्वारा जारी सन्देश

martyrs-day-message

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत