काठमाडौं महानगरपालिकाले फुटपाथका पसलहरु हटाउने

२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथका पसलहरु हटाउने अभियान सुरु गर्दैछ । महानगरपालिकाले यसलाई ‘सार्वजनिक सम्पत्तिको संरक्षण तथा सौन्दर्यता प्रवर्द्धन’ अभियान भनेको छ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अब जस्तोसुकै अप्ठयारो आएपनि यस्ता पसललाई हटाई छाड्ने बताएका छन् । पहिलो चरणमा विनासम्झौता विभिन्न सार्वजनिक स्थानमा सञ्चालन भएका सयभन्दा बढी पसल तथा शौचालयलाई हटाउने तयारी छ ।

महानगरपालिकाले उत्तर पश्चिमतर्फको शहरी सेवा केन्द्र, न्युरोडको गणेश मन्दिर पछाडिको टहरोमा सञ्चालित पसल, भसिको टोलको कपडा पसल, महाबौद्धभित्रको अस्थायी कपडा पसल, असनको ट्रान्सफर्मर मुनिको पसल र शान्तिबाटिकाको शौचालयलाई हटाउन पत्र काटेको छ ।

यस्तै भोटाहिटी सब-वेका पसलहरु, वीर अस्पताल पारीका पसलहरु, रत्नपार्कको शौचालय छेउको जुत्ता पसल, खुलामञ्चको उत्तर कुनाका पसलहरुका लागि महानगरले हटाउनु नपर्ने कारण मागेको छ ।

महानगरपालिकाले पसल सञ्चालकहरुलाई पत्र काट्दै हटाउनु नपर्ने कारण मागेको छ । ७ दिनभित्र त्यस्ता पसल सञ्चालकले महानगरपालिकामा सम्पर्क गरेर कारण पेश गर्नुपर्नेछ ।

७ दिनभित्र पसल सञ्चालकले आफूलाई त्यहाँबाट हटाउनुनपर्ने प्रमाणसहितको चित्तबुझ्दो कारण पेश नगरे तीनलाई हटाएर सो स्थान खाली गराइने महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत