डडेलधुरा जीप दुर्घटनामा एकै गाविसका ७ जनाको मृत्यु

४ फागुन, डडेलधुरा । डडेलधुराको अमरगढीमा से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे दुर्घटना हुँदा एकै गाविसका ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार भागेश्वरबाट डडेलधुरा सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र २ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारका क्रममा मृत्यु भएको हो ।

भागेश्वर गाविस ८ का गणेश कार्की, वडा नम्बर ४ का लक्ष्मण भट्ट र जयानन्द भट्ट, त्यस्तै वडा नम्बर ५ का कामदेव पाण्डे र नरपति पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका डिएसपी प्रेम शाहीले जानकारी दिए ।

डिएसपी शाहीका अनुसार भागेश्वर ७ का दिवाकर पाण्डे र पदमबहादुर मल्लको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते ५ मध्ये १ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र अन्यको उपक्षेत्रीय अस्पताल डडेलधुरामै उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत