मधेसी मोर्चाका नेताहरुलाई चुनावको मिति घोषणामा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएर चुनावको मिति घोषणामा सहयोग गर्न आग्रह गरेका छन् ।

Maoist HQ meeting

स्थानीय चुनावको मिति घोषणाको अन्तिम तयारीमा जुटेका प्रधानमन्त्री ‘प्रचण्ड’ले शनिबार मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएर चुनावको मिति घोषणामा सहयोग गर्न आग्रह गरेका हुन् ।

स्रोतकाअनुसार सरकारले चुनावको मिति घोषणा नगरे प्रतिगमनका लागि आधार बन्ने भन्दै कुनै पनि बेला मिति घोषणा हुन सक्ने संकेत गरेका छन् । तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई चुनावको मिति घोषणा गरेको आघा घण्टामा आन्दोलन घोषणा गर्ने बताएका छन् ।

हेटक्वार्टरको बैठकमा चुनावको तयारीबारे परामर्श

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार नै पार्टी हेटक्वार्टरको बैठक राखेर चुनावको तयारीबारे परामर्श गरेका छन् ।

शनिबार साँझ सम्पन्न बैठकले समसामयिक राजनीति र माओवादी केन्द्रको संगठनात्मक विषयबारे समीक्षा गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको सम्वादबारे बैठकलाई जानकारी गराएका छन् ।

बैठकमा हेडक्वार्टर सदस्यहरुले पार्टी आन्तरिक संगठनात्मक विषय, संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनबारे आफ्ना सुझावहरु राखेका थिए ।

बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय संगठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको छ ।

राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै हेडक्वार्टर बैठकले स्थानीय तहको निर्वाचन निर्बिकल्प भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर सदस्यहरुले अन्तिमपटक सत्तारुढ नेपाली कांग्रेस, मधेशी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिका छन् ।

त्यसअघि  शुक्रबार साँझ प्रचण्डले निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा चुनावका लागि आयोगले गरेको तयारीबारे जानकारी लिनुका साथै सरकारले सबै खाले सहयोग गर्ने बचन दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत