मधेशी मोर्चाका शीर्ष नेताहरुसँग बालुवाटारमा अनौपचारिक छलफल

१६ फागुन , काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुसँग सोमबार साँझ बालुवाटारमा अनौपचारिक छलफल गरेका छन् ।

सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको र सदनमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा रहेको सन्दर्भमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गरेका हुन् ।

बैठकमा स्थानीय तह पूनर्संरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेशी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्यवनमा नजाने हो भने संघीयता नै उल्टिनसक्ने खतराप्रति मोर्चाका नेताहरुको ध्यानाकर्षण गराए ।

संविधान संशोधन प्रस्तावलाई अन्तिम टुंगोमा लैजान मोर्चाका नेताहरुको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिवद्ध रहेको जानकारी गराए ।

भेटमा मोर्चाका नेताहरुले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको प्रतिवेदनबारे आफ्नो चासो राखेका थिए । अनौपचारिक छलफलमा प्रधानमन्त्री प्रचण्ड, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । बैठकमा मंगलबार माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीच संयुक्त बैठक बस्ने समझदारी भएको छ ।

न्याय र परिवर्तनका पक्षधरहरु मिलेर मात्र चमत्कार हुन सक्ने

२१४४ औं ल्याल्मो ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले न्याय र परिवर्तनका पक्षधरहरु मिलेर मात्र चमत्कार हुन सक्ने बताएका छन् ।

‘सबै जातिभित्र फरक फरक वर्गका मान्छेहरु छन् । खस–आर्यभित्र संघीयताका पक्षधर पनि छन्, जनजातिभित्र संघीयताका विरोधी पनि छन् । मूख्य कुरा दृष्टिकोणको हो । न्याय, समानता र परिवर्तनका पक्षधर सबै शक्ति र समुदाय मिले मात्रै चमत्कार गर्न सकिन्छ’ प्रधानमन्त्रीले भने, ‘यहाँ कुलमानजीको चर्चा चल्यो, कुलमानजीलाई त्यो ठाउँमा लैजान म २ वर्षदेखि लडेको छु । सबै समुदायभित्रका परिवर्तनका पक्षधर एक ठाउँमा उभिएर मात्र देशमा चमत्कार गर्न सकिन्छ ।’

प्रधानमन्त्रीले सरकार संविधानको स्वीकार्यता बढाएर निर्वाचन गर्न केन्द्रित रहेको बताए । ‘आजै मेरो मधेशी मोर्चाका नेताहरुसँग छलफल छ । सरकार संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने संकल्पमा छ’ प्रधानमन्त्रीले भने, हामीले सबै समुदायको पहिचान र अधिकारका लागि हाम्रो मत प्रष्टसँग राखेका छौं ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत