उचित आयोजना प्रस्ताव आएमा सरकारी प्रत्याभूति बिनै लगानी गर्छौं: अध्यक्ष जिन

२० फागुन, काठमाडौं । नेपालको भौतिक पूर्वाधार निर्माणका निम्ति एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वुनले  निजी क्षेत्रबाट उचित आयोजना प्रस्ताव प्राप्त भएमा बैंकले पर्याप्त लगानी गर्न सक्ने बताएका छन् ।

नेपाल लगानी सम्मेलनमा भाग लिने क्रममा जिनले नेपाल उद्योग परिसङ्घका पदाधिकारी र प्रबुद्ध परिषद्का सदस्यहरूसँगको भेटमा उपयुक्त प्रस्ताव आएमा सरकारी प्रत्याभूति बिना नै बैंकले नेपालमा लगानी गर्न सक्ने बताए ।

देशको आर्थिक सामाजिक रुपान्तरण गर्ने विशाल र रणनीतिक महत्वका पूर्वाधार आयोजना विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि तथा प्रतिबद्धता र त्यसलाई कार्यान्वयन गर्न राजनीतिक स्थायित्व पूर्वसर्त भएको विचार व्यक्त गर्दै उनले पछिल्लो समयमा नेपालमा विकास भएको वातावरणबाट आफू निकै प्रभावित भएको बताए ।

अध्यक्ष जिनले भने, ‘लगानी सम्मेलनमा सबै प्रमुख दलका नेताको अभिव्यक्तिले पूर्वाधार विकासका साथै नेपालको सामाजिक–आर्थिक रुपान्तरणमा नेतृत्वको प्रतिबद्धता पुष्टि भएको छ । निकट भविष्यमा हुने निर्वाचनले स्थायित्व प्रदान गर्नेमा म विश्वस्त छु ।’

अब नेपालको पूर्वाधार विकासले गति लिने र त्यसका लागि आवश्यक लगानी गर्न बैंक प्रतिबद्ध रहेको पनि उनले बताए ।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सन् २०३० सम्ममा मध्यम आययुक्त विकासोन्मुख देशमा स्तरोन्नति हुने लक्ष्यका साथ नेपाल सरकार निजी–सार्वजनिक साझेदारीका माध्यमबाट देश विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा एआइआइबीको सहयोगको अपेक्षा आफूहरुले गरेको बताए ।

प्रबुुद्ध परिषद्का संयोजक शम्भुराम सिम्खडाले नेपालजस्ता अल्पविकसित देशको आर्थिक–सामाजिक विकासका लागि अपरिहार्य पूर्वाधार विकासमा बैंकले प्राथमिकताका साथ लगानी विस्तार गर्ने रणनीति अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत