पार्टी संगठन र जनमतलाई ब्युँताउन एमालेका शीर्षनेताहरु तराईमा

२० फागुन, काठमाडौं । मधेसमा रक्षात्मक अवस्थामा पुगेको पार्टी संगठन र जनमतलाई ब्युँताउन एमालेका शीर्षनेता सहित पार्टीको ठूलो पंक्ति शुक्रबारदेखि तराई झर्दैछ ।

एक हजारभन्दा बढीको केन्द्रीय टोलीसहित शीर्ष नेताहरु मधेस पस्न लागेका हुन् । दुई सातासम्म एमालेका सबै नेताहरु मधेसमै मुकाम बनाएर बस्नेछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित एमालेका प्रायः सबै नेताहरु शुक्रबार साँझसम्म झापा पुग्नेछन् । शनिवार झापाको काँकडभिट्टाबाट शुरु हुने दुईसाता लामो मेची- महाकाली तराई मधेस अभियानमा सहभागी हुन पार्टीका २५ हजार नेता कार्यकर्ता नियमित परिचालन हुने अनुमान एमालेले गरेको छ ।

यो अभियानका क्रममा ३५ लाख जनता प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने अनुमान गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । मधेसमा एमाले विरुद्ध फैलाइएका ‘भ्रम’ चिर्ने र आसन्न निर्वाचनमा जनमत आफ्नोतर्फ फर्काउने प्रयोजनका लागि एमालेको अभियान प्रभावकारी हुने नेताहरुको दावी छ ।

एमालेले अबका दुई साता सम्पूर्ण शक्तिसहित तराई मधेसका सदरमुकाम र मधेसी बाहुल्य रहेका बजारहरुमा जनसभा, कोणसभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियानसहित मधेसी जनताको मन जित्न केन्द्रित हुने  एमाले नेताले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत