सप्तरीमा प्रहरीको गोली लागेर ३ प्रदर्शनकारीको मृत्यु, दर्जनौं घाइते

२३ फागुन, राजविराज । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका कारण तनावग्रस्त सप्तरीमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्‍जन मेहता, सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाह रहेको प्रहरी स्राेतले जानकारी दिएको छ ।

झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि प्रहरीले गोली चलाएको थियो ।

एमाले प्रचार विभागका नेतासमेत रहेका राजविराज घटनास्थलमै रहेका पत्रकार विष्णु रिजालले आफूहरु संयम भई राजविराजको कार्यक्रमस्थल र हनुमाननगरको रुटसमेत परिवर्तन गर्दा पनि मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाउनुका साथै एमाले कार्यकर्ताले प्रयोग गरेका एकदर्जन बढी गाडीहरुमा तोडफोड गर्न थालेपछि प्रहरी र मोर्चावीच झडप भएको बताए ।

‘हामीले हदैसम्म संयम अपनायौं, राजविराजको कार्यक्रमस्थल पनि परिवर्तन गर्‍यौं, हनुमाननगरको रुटसमेत परिवर्तन गर्‍यौं’ रिजालले भने, नेताहरुको अभिव्यक्ति पनि अति नै संयमित थियो । तर, हामीले पूर्वनिर्धारित कार्यक्रमै गर्न नपाउने भन्न खोजियो, जुन सम्भव थिएन ।’

एमालेको मेची–महाकाली अभियान अन्तर्गत एमाले अध्यक्ष केपी ओली सप्तरी आउने निश्चित भएपछि मोर्चाका कार्यकर्ता विरोधमा उत्रिएका थिए ।

मोर्चाका कार्यकर्ताले एमालेको कार्यक्रम बिथोल्न सोमबार यातायात बन्दको घोषणा गरेका थिए । जिल्लाका मुख्य बजारहरुमा बिहानैदेखि बिरोध जुलुस भएका थिए ।

मोर्चाको विरोधकै कारण एमालेले राजविराजस्थित राज रंगशालामा आयोजना गरेको आमसभा अन्तिम समयमा औद्योगिक क्षेत्रमा सारेको थियो ।

मधेशी मोर्चाको विरोध र प्रदर्शनका बीच एमालेको सभा : बाहिर गोली चल्दै, भित्र भाषण हुँदै

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधकै बीचमा नेकपा एमालेको आमसभा सप्तरीमा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी ओलीले संघीय लोकतान्त्रिक मधेशी मोर्चाको गतिविधिलाई सामाजिक फाँसिवाद र अधिनायकवादको संज्ञा दिएका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई लक्षित गरी मोर्चाले आयोजना गरेको गतिविधि सामाजिक फाँसिवाद र अधिनायकवादको नमूना भएको ओलीले आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले एमालेको अभियान कुनै दल र व्यक्ति विरुद्ध नभई मधेश र पहाडका नाममा जनता–बीच दुरी बढाउन खोज्नेहरु विरुद्ध भएको बताए । ओलीले एमालेको अभियान राष्ट्रघाती विरुद्ध रहेको पनि बताए ।

वर्तमान संविधान मधेशी, आदिवासी जनजाति, महिला, अल्पसंख्यक सबैको पक्षमा रहेको दावी गर्दै उनले तोकिएको समयमा तीनै तहको निर्वाचन सम्भव नभए संविधान कार्यान्वयन नहुने र देशले संवैधानिक जटिलता भोग्नु पर्ने बताए ।

कार्यक्रममा एमाले अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रिय सदस्य लालवावु यादवले सभालाई सम्वोधन गरेका थिए ।

औद्योगिक क्षेत्रभित्र एमालेको आमसभा चलिरहँदा बाहिर भने मधेशी मोर्चाका कार्यकर्ताहरु प्रहरीसँग दोहोरो झडप गरिरहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत