कञ्चनपुर घटनाबारे भारतसँग जवाफ माग्नु पर्ने राजनीतिक दलहरुको सुझाव

२६ फागुन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाबारे नेपालका राजनीतिक दलहरुले सरकारलाई भारतसँग जवाफ माग्नुपर्ने सुझाव दिएका छन् ।

Kanchanpur

दलहरुले सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न सुझाउँदै कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्दबजारमा बिहीबार एसएसबीको गोली प्रहारबाट गौतमको मृत्यु भएको घटनाबारे सरकार मौन बसेको भन्दै एमालेले सरकारको आलोचना गरेको छ ।

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाएको थियो ।

गौतमलाई शहिद घोषणा गर्न माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एसएसबीको गोली लागेर मृत्यु भएका गौतमलाई शहिद घोषणा गर्न माग गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘देशभक्तिको कुरा गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरुलाई खोक्रो राष्ट्रवादी भनेर होच्याउनेहरु आज सीमानामा नागरिक मारिँदा प्रतिक्रियाविहीन बनेका छन् । सरकारले तत्काल यसबारे आपत्ति जनाएर भारतीय पक्षको जवाफ माग्नुपर्छ ।’

यसैगरी नयाँ शक्ति नेपालले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना नेपाल-भारत सीमा क्षेत्रमा विद्यमान विवादकै परिणामस्वरुप भएको घटना हो । नेपाल-भारत सीमा क्षेत्रमा यस्ता धेरै विवादका विषयहरु विद्यमान छन् जसको स्थायी समाधानका लागि सरकारले ठोस पहल गरेको छैन ।’

सरकारले तत्काल कुटनीतिक पहल गरी सीमा समस्याको समाधान गर्नुपर्ने नयाँ शक्तिको माग छ ।

यसैगरी चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाले पनि एसएसबीले कञ्चनपुरमा गरेको ज्यादतीको निन्दा गर्दै देशव्यापी विरोध गर्ने घोषणासमेत गरेको छ ।

वाईसीएल कञ्चनपुर घटनाविरुद्ध

यसैवीच सत्तारुढ नेकपा माओवादी केन्द्रका युवा संगठन वाईसीएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुर घटनाविरुद्ध राजधानीसहित देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । वाईसीएलले बिहीबार साँझ र क्रान्तिकारीले शुक्रबार बिहान काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् ।

विप्लव माओवादीले गौरीफन्टा नाका बन्द गराए

विप्लवका कार्यकर्ताले बिहीबार साँझ गौरीफन्टा नाका अन्तरगतको श्रीनगर भन्सार बन्द गराएका छन् । आनन्दबजारमा भारतीय सुरक्षा फौजको गोली लागी एक नेपालीको मृत्युभएपछि विप्लव माओवादीका कार्यकर्ताले कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले जिल्लाका विभिन्न भागमा विरोध प्रदर्शन गर्दै भारतविरुद्ध नाराबाजी गरेका छन् ।

सत्ता पक्ष बोलेन 

कञ्चनपुर घटनाबारे सत्तारुढ माओवादी र नेपाली कांग्रेसले विहीबार साँझसम्म कुनै औपचारिक वक्तव्य निकालेका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले यो समाचार तयार पार्दासम्म कञ्चनपुर घटनाबारे मुख खोलेको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत