माओवादीको चेतावनी : भारतले माफी नमागे भारतीय चलचित्र प्रतिवन्ध लगाउने

२७ फागुन, काठमाडौं । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको हत्या गरेको विरोधमा माओवादी केन्द्र सम्वद्ध भ्रातृ संस्थाहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

YCL

जुलुसपछिको विरोध सभामा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भारत सरकारले तत्काल माफी मागेर दोषीलाई कारबाही नगरिए भारतीय चलचित्र नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारी, वाईसीएल र अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्तरुपमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस नयाँबानेश्वर पुगेर विरोध सभामा परिणत भएको थियोे । जुलुसमा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए र भारतीय ज्यादतीविरुद्ध चर्का नारावाजी गरेका थिए ।

माओवादी केन्द्र निकट युवा, विद्यार्थी र महिला संगठनहरुले शुक्रबार साँझ ६ बजे माइतीघर मण्डलामा गोविन्द गौतमप्रति श्रद्धाञ्जली सभाको कार्यक्रम राखेका छन् ।

माओवादी केन्द्रले कञ्चनपुरको आनन्दबजारमा मारिएका गोविन्द गौतम आफ्ना कार्यकर्ता भएको भन्दै हत्याको विरोधमा शुक्रबार ७ नम्बर प्रदेश बन्दको घोषणा समेत गरेको छ ।

यसैगरी चितवनमा पनि मृतक गोविन्द गौतमलाई शहीद घोषणाको माग गर्दै बिहीबार साँझ बिरोध प्रदर्शन भएको छ । पुलचोकमा भेला भएका माओवादी केन्द्रका भातृ संगठन वाईसीएलले बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भारतीय बिस्तारवादबिरुद्ध पनि नाराबाजी गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत