शव यात्रामा जनसागर : सिङ्गो सप्तरीवासी दुःखी

 

5

२८ फागुन, राजविराज । एमालेको मेची–महाकाली अभियानको विरोधकाक्रममा गत सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका पाँच जनाको शव राजविराज ल्याई शनिबार शवयात्रा निकालिएको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका मलेठका संजन मेहता, पिताम्वर मण्डल, विरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका ईनरदेव यादवको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकिएपछि यहाँ ल्याई शव यात्रा निकालिएको हो ।

3

अन्तिम श्रद्धाञ्जलीका लागि पाँचै जनाको शव ४ घण्टा स्थानीय गजेन्द्र नरायण चौकमा राखिएको थियो । बिहानैदेखि वर्षा भइरहेको भए पनि श्रद्धाञ्जली व्यक्त गर्न जनसागर उर्लेको थियो ।

मृतकको नाम र फोटो टाँसिएको कफिनमा फुलमाला हाल्दै गर्दा अधिकांश रोइरहेका थिए ।

6

अन्तिम बिदाईका क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह, तराई मधेश लोकतान्त्रीक पार्टीका सह महासचिव जयप्रकाश ठाकुर साथै जिल्ला स्तरीय नेता, कार्यकर्ता, शुभेच्छुक र हजारौंको संख्यामा उपस्थित सर्वसाधारणले फुलमाला अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

अन्तिम श्रद्धाञ्जली पश्चात निकालिएको शव यात्रामा सहभागीले वीर शहिद अमर रहुन, मधेशी एकता जिन्दावादका साथै एमाले र अध्यक्ष केपी ओलीविरुद्ध चर्को नारावाजी गरेका थिए ।

2

मधेशवादी नेताहरुको आईतबार संयुक्त पत्रकार सम्मेलन
अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार राजविराज आइपुगेका मधेशीवादी दलका शीर्ष नेताहरुले आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी भावी रणनीति र कार्यक्रम बारे घोषणा गरिने जानकारी दिएका छन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन । अहिले हामी सबै शोकाकुल अवस्थामा छौं, उनले भने, ‘सप्तरीको घटना, गठबन्धन, मोर्चाको अबको रणनीति तथा भावी कार्यक्रम लगायतका विषयमा ठोस निर्णय गरी भोलि आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउने छौ ।’

उक्त पत्रकार सम्मेलनमा मधेशवादी दलका राष्ट्रिय अध्यक्षहरुको सहभागिता रहने मोर्चाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत