एक महिनादेखि रेबिज विरुद्धको औषधि अभाव

1

५ चैत्र, राजबिराज । जिल्लामा बौलाहा कुकुरको विगविगीसँगै टोकाइबाट घाइते हुनेको संख्या पनि बढ्दो छ । एक साता यता मात्रै बौहुला कुकुरको टोकाईबाट घाइते हुनेको संख्या ९ पुगेको छ ।

नगर क्षेत्रका साथै जिल्लाका विभिन्न स्थानबाट बौलाहा कुकुरको टोकाइबाट घाइते भई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आउन थालेका छन् ।

यसरी बौलाहा कुकुरको टोकाइबाट घाइते भई उपचारका लागि आउनेको संख्या दैनिक २ देखि ३ जनासम्मको हाराहारीमा पुगेको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

तर, विगत एक महिनादेखि अस्पतालमा बौहुला कुकुरले टोकेपछि दिइने एन्टीरेबिज भ्याक्सिन उपलब्ध हुन सकेको छैन ।

Saptari

स्वास्थ्य चौकीहरुमा समेत भ्याक्सिनको पूर्ण अभाव छ । यसकारण पनि बौलाहा कुकुरको टोकाइबाट घाइते भएका विरामी र आफन्त हैरान बनेका छन् ।

अस्पताल र स्वास्थ्य चौकीहरुमा एन्टीरेबिज भ्याक्सिन उपलब्ध हुन नसक्दा विरामीले बजारका केही औषधि पसलमा चर्को मूल्य तिरेर सो औषधि किन्नु परिरहेको गुनासो पोखेको छन् ।

अस्पतालबाट निःशुल्क रुपमा पाइने सो भ्याक्सीनको अहिले अभाव भएपछि बजारमा ३ देखि ४ हजार रुपैयाँसम्म तिरेर औषधि किन्नु परिरहेको पीडितहरुले गुनासो गरेका छन् । एक विरामीले भने, “जनताले सर्वसुलभ रुपमा उपचार पाउने हक राज्यले नै खोसेको छ ।”

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट दिलिप साहले एन्टीरेबिज भ्याक्सिन विगत एक महिनादेखि अभाव रहेको स्वीकार्दै यसबारे समय मै विभागलाई जानकारी गराइए पनि उपलब्ध हुन नसकेको बताए ।

लामो समयसम्म औषधि नआउँदा समस्या थपिँदै गएको बताएका साहले औषधि झिकाउन आफूले निरन्तर मौखिक र लिखित प्रयास गरिरहेको बताए ।

यता नगरपालिका, जिल्ला विकास समिति र जनस्वास्थ्य कार्यालयले समेत छाडा, भुस्याहा र बहुला कुकुर नियन्त्रणका लागि कुनै पहल नथालेकोमा आक्रोशित बनेका स्थानीयवासीले यसको नियन्त्रणका लागि अविलम्व पहल गर्नुपर्ने माग गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत