७ चैत, काठमाडौं । शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोग कान्तिपथमा धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन् ।
पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगको कार्यालय घेराउ गरेका हुन् ।
निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपपछि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका कमल थापा आफैं धर्ना बसेर आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।
झडपकाक्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।
राप्रपाका नेता कार्यकर्ताले टायर बाल्दै सडकमै बसेर नाराबाजी समेत गरेका थिए ।