आगामी वैशाख १५ सम्म टीभीलाई डिजिटलाइज्ड नगरे सेवा नै बन्द

काठमाडौं । आगामी वैशाख १५ सम्म टीभीलाई डिजिटलाइज्ड नगरे सेवा नै बन्द हुनेछ ।

DTV

बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा वैशाख १५ पछि केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी चल्ने छैन ।

यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आगामी कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैन । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले जानकारी दिए ।

यसअनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भएसक्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

एनागल टेलिभिनलाई डिजिटलमा लैजान १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनु पर्नेछ ।

तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्नेछ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिने छ ।

केबल टीभी अपरेटरले भने आफ्नो हेड-इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प रहने छन् । अहिलेसम्म १० वटाले एमएसओ लाइसेन्स लिएका छन् भने डीस होम डीटीएच प्रविधिमा सञ्चालनमा छ ।

अहिलेसम्म १० लाख टेलिभिजन सेटमा सेट-टप बक्स लगाइसकिएको दाबी टेलिभिजन अपरेटरले गरेको सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले बताए ।

अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।

यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनु पर्नेछ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटिएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुने इञ्जिनियर भुजेलले बताए ।

नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा छन् भन्ने अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजस्व भरेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत