चिनियाँ रक्षामन्त्री बिहीबार नेपाल आउँदै

९ चैत, काठमाडौं। तीनदिने औपचारिक भ्रमणको सिलसिलामा चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको बिहीबार आउँदै छन् ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहीबार शिष्टाचार भेट गर्नेछन् ।

रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्ने तय भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्नेछन् ।

यसअघि सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने तय भएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाका अनुसार चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल गर्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत